मनमोहन विश्वविद्यालयले प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने

मोरङको बूढीगङ्गास्थित मनमोहन प्राविधिक विश्वविद्यालयले सिभिल इञ्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कोशी प्रदेश सरकारले स्थापना गरेको सो विश्वविद्यालयले एसइई उत्तीर्ण गरेर तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल इञ्जिनियरका लागि स्वीस सरकारसँगको साझेदारीमा प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

नेपालमा सिभिल इञ्जिनियरिङ क्षेत्रमा पहिलो पटक राष्ट्रिय व्यावसायिक योग्यता प्रारुप तह–६ अनुरूपको प्राविधिक स्नातक कार्यक्रम सञ्चालन गर्न सो विश्वविद्यालयले स्वीस सरकारसँग औपचारिक सम्झौता गरिसकेको छ ।

विश्वविद्यालयका स्कुल अफ इञ्जिनियरिङ सङ्कायका डीन डा रेखा श्रेष्ठ र स्वीस कन्ट्याक्टका देशीय निर्देशक सञ्जय कार्कीबीच विटेक कार्यक्रम सञ्चालन गर्न औपचारिक सम्झौता भएको छ । यो सम्झौतासँगै पाठ्यक्रम निर्माण गरेर पठनपाठन सुरु गर्ने तयारी रहेको विश्वविद्यालयका उपकुलपति डा सुवासश्री पोखरेलले जानकारी दिनुभयो । उपकुलपति पोखरेलका अनुसार नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम प्रणाली सुदृढ गर्ने उद्देश्यसहित विश्वविद्यालय र स्वीस कन्ट्याक्टबीच नेपाल व्यावसायिक योग्यता प्रणाली परियोजना अन्तर्गत साझेदारी गरिएको हो ।

स्वीस कन्ट्याक्टसँग भएको सम्झौता अनुसार एमटियूले तीन वर्षे डिप्लोमा उत्तीर्ण गरेका जुनियर इञ्जिनियरका लागि दक्षतामा आधारित पाठ्यक्रम विकास गर्नेछ । जसमा कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल, पेसागत तथा उद्योग परिषद्हरूसँगको परामर्श, र नेपालको पूर्वाधार तथा निर्माण क्षेत्रको आवश्यकता अनुरूपका दक्षताका मापदण्डहरु पाठ्यक्रममा समेटिनेछन् । विश्वविद्यालयकी डीन डा श्रेष्ठले देशका युवालाई आवश्यक उच्चस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न सो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो ।

स्वीस कन्ट्याक्टका देशीय निर्देशक कार्कीले यस प्राविधिक विश्वविद्यालयसँगको सहकार्य नेपालको सीप विकास क्षेत्रमा कोसेढुङ्गा सावित हुने बताउनुभयो । हाल नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीभिटी)मार्फत प्रि–डिप्लोमा र डिप्लोमा तहका कार्यक्रम सञ्चालन हुँदै आएका छन् । तर एसइईपछि तीन वर्षे डिप्लोमा गरेका जुनियर इञ्जिनियरहरु त्यसभन्दा माथिल्लो तह अध्ययनका लागि स्पष्ट व्यवस्था नहुँदा अलमलमा पर्दै आएका थिए । त्यसैले मनमोहन प्राविधिक विश्वविद्यालयले सञ्चालन गर्न लागेको विटेक कार्यक्रमले उनीहरुको पेसागत उन्नतिमा थप मद्दत गर्ने जनाइएको छ ।