राष्ट्रिय परीक्षा बोर्डले पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीहरूलाई मौका दिएको छ ।
बोर्डले कक्षा १२ मा अनुत्तीर्ण वा तोकिएको ग्रेड पाउन नसकेका विद्यार्थीलाई अन्तिम पटक मौका परीक्षा दिन दिने भएको हो ।
कक्षा ११ वा १२ को परीक्षामा सम्मिलित भई अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण–अनुपस्थित वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका (पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र ई ग्रेड प्राप्त गर्ने) परीक्षार्थीहरू (कक्षा १२ का लागि रजिष्ट्रेशन नम्बरको शुरुका दुई अङ्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम तथा कक्षा ११ का लागि ५६ वा सो भन्दा बढी र ७६ वा सो भन्दा कम भएका) लाई अन्तिम एकपटकका लागि अनुत्तीर्ण भएका वा तोकिएको ग्रेड प्राप्त नगरेका विषयको परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ ।
परीक्षामा सहभागी हुन चाहने परीक्षार्थीहरूले ३५ दिनभित्र ( मिति २०८१ साल मंसिर २७ गतेभित्र) सम्बन्धित विद्यालयमार्फत बोर्डले तोकेको ढाँचामा परीक्षा आवेदन फाराम माग गरेको छ ।
सम्बन्धित विद्यालय–क्याम्पसहरूले आफ्ना विद्यार्थीहरूले भरेको फाराम सङ्कलन गरी रकम बुझाएको बैंक भौचर – डिजिटल भुक्तानी गरेको अवस्थामा सोको प्रमाण एवं अनलाईन इन्ट्रीको प्रिन्ट कपीसहित २०८१ साल पुस २ गतेभित्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयमा आवेदन फाराम बुझाउनु पर्ने बोर्डले जारी गरेको सूचनामा उल्लेख छ ।
पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीको रुपमा आवेदन फाराम भर्ने परीक्षार्थीहरू (रजिष्ट्रेशन नम्बरको शुरुका दुई अड्क ५६ वा सोभन्दा बढी र ७७ वा सोभन्दा कम एवं ७६ वा सो भन्दा कम भएका) ले कक्षा ११ वा १२ वा दुबैमा आफू अनुत्तीर्ण वा तोकिएको ग्रेड (पुरानो ग्रेडिङ्ग प्रणाली अनुसार डी र इ ग्रेड) प्राप्त गर्न नसकेको विषयमा मात्र आवेदन फाराम भर्नु पर्ने सूचनामा भनिएको छ ।
प्रयोगात्मक विषय मात्र बाँकी रहेका परीक्षार्थीहरूले समेत तोकिएकै समयभित्र आवेदन दिनु पर्ने छ ।