काठमाडौं विश्वविद्यालयले कोभिडको कारण परीक्षा स्थगित गरेको छ । माघ दुई गतेदेखि हुने तय भएको व्यवस्थापन संकायको परीक्षा स्थगित गरेको विश्वविद्यालयका प्रवक्ता इक्कुमाया पुनले जानकारी दिइन् । केयुले कलेज अफ म्यानेजमेन्टको परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो ।
त्यस्तै कोभिड–१९ को तेस्रो लहरका रूपमा फैलिएको ओमिक्रोन भेरियन्टका कारण त्रिभुवन विश्वविद्यालयले सम्पूर्ण परीक्षा स्थगित गरेको छ । त्रिविको आज बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले वार्षिक तथा सेमेस्टर प्रणालीका सबै परीक्षा अर्काे सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जानकारी दिए ।
त्रिविको व्यवस्थापन संकायले आगामी शनिबार परीक्षा केन्द्र कायम गरी सिम्याटको परीक्षा सञ्चालन गर्ने भएको छ । अधिकाँश विद्यार्थीले कोभिड विरुद्धको भ्याक्सिन नलगाएकाले परीक्षा स्थगित गर्नुपर्ने माग राख्दै आएका थिए । सो संकायका डिन प्रा.डा. डिल्लीराज शर्माले माघ ८ गते सिम्याटको परीक्षा सञ्चालन हुने जानकारी दिए ।