स्तरीकृत प्रश्नपत्र कार्यान्वयनमा

राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत परीक्षाको थालनी गरेको छ । पहिलो पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा यसको प्रयोग गरिएको हो ।

राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा पत्रकार सञ्जाल (इजोन)को शनिबारदेखि आयोजना गरेको अभिमुखीकरणमा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीको स्तरअनुसारका प्रश्नपत्रबाट परीक्षा सञ्चालन गरिएको जानकारी दिए ।

“पहिलो पटक भएकाले अनिवार्य अङ्ग्रेजी, गणित र विज्ञान विषयका प्रश्नपत्र स्तरीकृत रुपमा निर्माण गरियो” उनले भने, “अब अनिवार्य अन्य विषयका प्रश्नपत्र पनि यसै मोडेलबाट तयार गरिनेछ ।”

देशका विभिन्न विषयगत शिक्षकले तयार गरेको प्रश्नपत्रको बैङ्क तयार गरिएको छ । ती विषयका प्रश्नपत्र प्रदेशस्तरमा फरक फरक भए पनि तिनको स्तर समान बनाइएका थिए । उनका अनुसार एकदमै सजिलो र निकै कठिन प्रश्नको सट्टा बीचको स्तरका प्रश्नपत्र तयार गरिएको थियो । 

“अहिलेसम्म पाठ्यपुस्तक, गाइड, गेसपेपर बनाएर बेच्ने र त्यसैबाट प्रश्न आउने भन्ने प्रवृत्ति विकास भएको छ” उनले थपे, “अब पाठ्यपुस्तकबाट प्रश्न सोधिने होइन, पाठ्यक्रमलाई प्रयोग गरेर प्रश्न बनाउने हो । पाठ्यपुस्तकलाई प्रयोग गरेर प्रश्नपत्र बनाउने अभ्यास अब रहँदैन ।”

बोर्डका अध्यक्ष डा. शर्माले विद्यार्थीको सिकाइ सुधार्न स्तरीकृत प्रश्नपत्रको सिद्धान्त अवलम्बन गर्नुपर्छ भन्दै यसलाई निरन्तरता दिइने बताए । “यस पटकको एसईईको नतिजा पनि हेरौँ । तर नतिजा जस्तो आए पनि स्तरीकृत प्रश्नपत्र निर्माण कार्य रोकिने छैन । यो सुरुवात हो । यस पटकको नतिजालाई विश्लेषण गरेर यसको सफलता र सुधारका पक्ष थाहा हुनेछ” उनले भने ।

उनका अनुसार कक्षा ८, १० र १२ मा यो विधि अवलम्बन गरिनेछ । सङ्घ, प्रदेश र स्थानीय तहबाट नै प्रश्न बैङ्क निर्माण गरिनेछ । यसका लागि शिक्षकलाई तालिम दिनुपर्ने हुन्छ । हाल एउटै विद्यार्थीको उत्तरपुस्तिका १० जना शिक्षकले परीक्षण गर्दा प्राप्ताङ्कको अन्तर निकै फरक देखिने गरेको छ । यो अन्तरलाई पनि स्तरीकृत प्रश्नपत्रले निकै कम गर्ने उनको भनाइ छ । हाल एउटै विद्यार्थीको उत्तरपुस्तिका परीक्षण गर्दा २० अङ्कभन्दा पनि बढी अन्तर फेला पर्ने गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) विष्णुनारायण श्रेष्ठले साविकको एसएलसी तथा एसईईका प्रमाणपत्र सच्याउन आउनेहरुको भिड उत्तिनै रहने गरेको बताए । उनका अनुसार सबैभन्दा बढी दलित थर सच्याउन चाहनेहरु पनिकामा पुग्ने गरेका छन् ।

“एक जनाले पहिले थापा लेखाएका रहेछन् । उनलाई अमेरिका बसोबासको चिठ्ठा (डीभी) पर्याे । उनी आफ्नो प्रमाणपत्रमा विश्वकर्मा भनी सच्याइदिनुपर्याे  भनेर आए । त्यो त सम्भव भएन” उनले भने, “यस्ता समस्या लिएर म कहाँ दैनिक आठदेखि १० जनासम्म आइपुग्छन् ।”

पनिकाले गत साउन १ देखि वैशाख मसान्तसम्ममा एक हजार ८५७ वटा पुराना प्रमाणपत्रको त्रुटि संशोधन गरिएको, छ हजार ५०५ जनाको जन्म मिति, नामथर संशोधन तथा नतिजा छुटेको, ५३४ जनाको एकीकृत प्रमाणपत्र जारी गरेको छ ।

Thuprai - Books and E-books