छात्रा शिक्षामा सहयोगको घोषणा

काठमाडौँ, २४ साउन (रासस) ः संयुक्त राष्ट्रसंघका पूर्वसहायक महासचिव कुलचन्द्र गौतमले नेपालको छात्रा शिक्षा कार्यक्रमका लागि सहयोगको घोषणा गर्नुभएको छ । 

युनिसेफका पूर्वउपकार्यकारी निर्देशकसमेत रहनुभएका गौतमले आफ्नो नयाँ पुस्तक ‘ग्लोवल सिटिजन फ्रम गुल्मी’ को बिक्रीबाट उठेको रकम जेहेन्दार छात्रालाई शिक्षामा आकर्षण गर्न उक्त सहयोगको घोषणा गर्नुभएको युनिसेफले विज्ञप्तिमार्फत जनाएको हो । 

उक्त सहयोगको स्वागत गर्दै युनिसेफले प्रदेश नं २ तथा मध्य र सुदूरपश्चिम जिल्लाको शिक्षाबाट बञ्चितलाई शिक्षा प्रदान गर्ने शैक्षिक पहलको एउटा पार्टका रुपमा लिएको जनाएको छ । ‘सँगै सिकौँ’ नामको उक्त कार्यक्रमले सबै बालबालिकाको विशेष गरी पिछडिएका क्षेत्रका बालबालिकालाई सिकाइ सहभागितामा पहुँच बढाउन तथा विद्यालय जाने वातावरणको सुनिश्चितता गर्न सहयोग पुग्ने विश्वास लिइएको छ । 

सरकारको साझेदारीमा असहाय बालबालिकाका क्षेत्रमा पनि यो कार्यक्रमले सहयोग पु¥याउँदै आएको छ । गत छ वर्षमा यस कार्यक्रमबाट झण्डै २१ हजार छात्रा विद्यालय फर्किएको विज्ञप्तिमा जनाइएको छ । 

Thuprai - Books and E-books