केसीसी एक्जिबिट २०२५' काे भव्य समुद्घाटन

काठमाडाैँ । १६ साउन २०८२ । कान्तिपुर सिटी कलेज (केसीसी) ले प्रत्येक वर्ष आयाेजना गर्दै आएकाे  केसीसी एक्जिबिट २०२५ शुक्रबारबाट भव्य समुद्घाटन भएकाे छ । शुक्रबार कलेज परिसर, पुतलीसडक, काठमाडौंमा आयाेजित समाराेहलाई नेपाल सरकारका सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले समुद्घाटन गरे ।

उद्घाटन समारोहकाे सभाध्यक्षता कलेजका अध्यक्ष सुमन कटुवालले गरे । कार्यक्रमको सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङकाे प्रमुख आथित्यतामा भएकाे समुद्घाटन समाराेहमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्र प्रसाद ढकाल विशेष अतिथिका रूपमा रहे । यसैगरी अन्य विशिष्ट अतिथिहरूमा सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेल, क्यान महासंघकी अध्यक्ष सुश्री सुनैना पाण्डे, व्यवस्थापन संघ (म्यान) का महासचिव इन्द्र कुमार श्रेष्ठ, कलेजका प्रबन्ध निर्देशक डा. प्रल्हाद कार्की, आमसञ्चार विभाग प्रमुख प्रा. रामाकृष्ण रेग्मी, प्राचार्य राजु कट्टेल र एक्जिबिसनका संयोजक इ. रवि श्रेष्ठ रहेका थिए ।

समुद्घाटन समाराेहलाई सम्बाेधन गर्दै प्रमुख अतिथि पृथ्वी सुब्बा गुरुङले आजकाे दशक फाइभजी र एआइकाे भएकाे बताए । सरकारले फाइभजी प्रविधि यसै वर्षभित्र जडान गर्ने तयारी गरिरहेकाे उनले बताए । सरकारकाे एक वर्ष अनुभव मात्रै लिन पाएकाे भन्दै मन्त्री गुरुङले अब एक वर्ष काम गर्न पाए नेपाललाई प्रविधिमैत्री बनाउन सक्ने बताए । सरकारकाे सानाे मात्रै डाटा सेन्टर रहेकाे भन्दै त्यसलाई ठूलाे आकारमा बनाउनु पर्ने उनले बताए । आइटी पार्क एउटा पनि नभएकाे भन्दै उनले प्रविधियुक्त नेपाल विकासका लागि सरकारले काम गरिरहेकाे बताए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) का सचिव डा. रवीन्द्र प्रसाद ढकालले इन्जिनियरहरुले मात्रै याे देशकाे मुहार फेर्न सक्ने बताए । इन्डस्ट्री र एकेडेमीलाई जाेडेर अघि बढ्नु पर्ने उनले बताए । आविष्कारका क्षेत्रमा काम गर्ने युवाहरुलाई नाष्टले स्वागत गर्ने भन्दै उनले अनुसन्धान र आविष्कारका लागि पैसा र स्थान उपलब्ध गराउने जानकारी दिए ।

सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौडेलले केसीसीकाे याे एक्जिबिसनले धेरै नयाँ युवाहरुलाई प्रेरणा दिएकाे बताए । याे प्रदर्शनीले युवाहरुलाई अघि बढ्न सहयाेग गर्ने उनकाे भनाइ छ । इन्डस्ट्री, एकेडेमिया र गभरमेन्टबीच समन्वय भएर अघि बढ्न सके देश समृद्ध बन्न समय नलाग्ने उनले बताए ।

क्यान महासंघकी अध्यक्ष सुश्री सुनैना पाण्डेले एक्जिबिसनकाे सफलताकाे शुभकामना दिइन् । क्यान फेडेरेसनले ३२ वर्षदेखि यस्तै नयाँ प्रविधिकाे विकास क्यान इन्फाेटेकमार्फत मात्रै हेर्न पाइने गरेकाेमा पछिल्लाे समय कलेजका विद्यार्थीहरुले नै नयाँ आविष्कार गरेर देखाउने गरेकाे उनले बताइन् । युवा विद्यार्थीहरुलाई आवश्यक सहयाेग गर्न महासंघ तयार रहेकाे उनले बताइन् । एआइकाे विकास उच्च गतिमा भइरहेकाे भन्दै उनले सबै इनाेभेसनमा एआइकाे प्रयाेग गर्न पनि उनकाे सुझाव छ ।

व्यवस्थापन संघ (म्यान) का महासचिव इन्द्र कुमार श्रेष्ठले विद्यार्थीहरुले कक्षाकाेठामा सिकेकाे ज्ञानलाई व्यवहारमा रुपान्तरण गर्ने याे नै माैका भएकाे बताए । यस्ता व्यवहारिक ज्ञानले विद्यार्थीकाे व्यवस्थापकीय क्षमतामा पनि विकास गर्ने भएकाेले भविष्यमा पनि यस्ता कार्यक्रम आयाेजना हुनुपर्ने उनले बताए ।

कार्यक्रमकाे आैचित्य र महत्वमाथि प्रकाश पार्दै प्रा. रामाकृष्ण रेग्मीले इनाेभेसन, एक्जिबिट र इन्स्पायर नै प्रदर्शनीकाे मुख्य उद्देश्य रहेकाे बताए । नेपालमा एआइका प्रविधिहरुलाई कसरी असल अभ्यास गर्ने भन्ने विषयमा पनि कन्तिपुर सिटी कलेजले काम र अध्यापन गराइरहेकाे बताए । याे प्रदर्शनी केसीसीकाे मात्रै नभएर सबै कलेज र सराेकारवालाकाे भएकाे बताए । "केसीसीले एउटा डट्स काेरेकाे छ याे ग्लाेबल्ली कनेक्ट हुन पनि सक्छ, हुनु पनि पर्छ" उनले भने ।

सहभागीहरुलाई स्वागत गर्दै कलेजका प्राचार्य राजु कट्टेलले इनाेभेसन, एक्जिबिट, इन्स्पायर भन्ने मूल नारासहित आयोजना हुने यो दुईदिने प्रदर्शनीले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्र बीचको सहकार्यलाई थप सशक्त बनाउने बताए ।

प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी नेतृत्वका परियोजनाहरू प्रदर्शित गरिएकाे उनले जानकारी दिए । प्रदर्शनीमा कृत्रिम बुद्धिमत्ता (एआइ), इन्टरनेट अफ थिङ्स, सफ्टवेयर एप्लिकेसनहरू, वेब/मोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इञ्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचनाहरू आदि समावेश भएकाे उनले बताए । त्यस्तै, बिबिए विद्यार्थीहरूद्वारा सञ्चालन गरिने ५ भन्दाबढी खाना स्टलहरूमार्फत स्थानीय तथा फ्युजन स्वादका परिकारहरू प्रस्तुत गरिएकाे उनकाे भनाइ छ ।

शुक्रबार र शनिबार सञ्चालन हुने प्रदर्शनीमा सांस्कृतिक कार्यक्रम र प्रत्यक्ष प्रस्तुतीहरू पनि समावेश गरिएका छन् । कार्यक्रममा चर्चित गायिका एञ्जिला रेग्मीको लाइभ कन्सर्ट, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) को प्रस्तुति तथा विद्यार्थीहरूद्वारा प्रस्तुत लाइभ म्युजिक आदि रहेका छन् ।

कार्यक्रममा १० हजार भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता रहने कलेजले अपेक्षा गरेकाे छ । विद्यार्थी, शिक्षक, अभिभावक, उद्यमी, प्रविधि विशेषज्ञ, सञ्चारकर्मी र सर्वसाधारण सहभागी हुने प्रदर्शनी संयाेजक ई. रवी श्रेष्ठले बताए । यो प्रदर्शनीले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने मञ्च प्रदान गर्नुका साथै शैक्षिक क्षेत्रमा प्रवर्द्धन र उद्यमशीलताको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको कलेजका उपनिर्देशक राजीव तिमल्सिनाले बताए ।

केसीसी पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त नेपालकै अग्रणी आईटी, इञ्जिनियरिङ् तथा व्यवस्थापन कलेज हाे ।