After SEE Portal

शैक्षिक समस्या समाधान गर्न सरकार अग्रसर

Bridge Course

बैतडी, ६ वैशाख (रासस) : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधानका लागि पनि सरकार लागिपरेको बताउनुभएको छ । आज बैतडी जिल्लालाई साक्षर जिल्ला घोषणा कार्यक्रममा मन्त्री पोखरेलले व्यवहारिक र सीपयुक्त शिक्षा आजको आवश्यकता भएको औँल्याउनुभयो ।

“शिक्षाको गुणस्तर सुधारका लागि शिक्षक, अभिभावक महत्वपूर्ण भूमिका रहन्छ”, उहाँले भन्नुभयो, “शिक्षकले राजनीतिभन्दा टाढा रहेर अध्यापन गराउनुपर्छ, शिक्षामा रुपान्तरण हुनुपर्छ ।” सरकारले शैक्षिक क्षेत्रको विकासका लागि विभिन्न ऐन पास गरेको बताउँदै मन्त्री पोखरेलले थप्नुभयो, “राजनीति नझल्किनका लागि गरिएको परीक्षाको नतिजा राम्रो आउनुपर्छ ।”

यसैबीच बैतडीलाई आज ४९औँ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा गरिएको छ । घोषणा गर्ने तयारी भएको झण्डै १० महीनापछि साक्षर जिल्ला घोषणा गरिएको हो । आज एक कार्यक्रमकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्नुभएको हो । जिल्लामा १५ देखि ६० वर्षसम्मका नागरिकमध्ये ९६.९२ प्रतिशत नागरिक साक्षर भएपछि जिल्लालाई साक्षरता जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो ।

आर्थिक वर्ष ०७१÷०७२ मा गरिएको साक्षरता सर्वेक्षणअनुसार १५ वर्षभन्दा माथिको निरक्षर सङ्ख्या ६४ हजार ३५७ मध्ये ५९ हजार ९९७ जना साक्षर रहेका छन् । बैतडी देशको ४९औँ जिल्लाका रुपमा साक्षर जिल्ला घोषणा भएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

जिल्लालाई साक्षर घोषणा गर्नुअघि १० वटै स्थानीय तहलाई साक्षर घोषणा गरिएको थियो । जिल्लाका १० वटै स्थानीय तह गत असारमा साक्षर घोषणा गरिएका थिए । प्रत्येक स्थानीय तहबाट तथ्याङ्क सङ्कलन गरेर साक्षर घोषणाका मापदण्ड पूरा भएपछि जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्टले बताउनुभयो ।

जिल्ला सदरमुकामस्थित वीरेन्द्र माविमा बैतडी जिल्ला साक्षर घोषणामा बैतडीबाट निर्वाचित सङ्घीय सांसद दामोदर भण्डारी, प्रदेशसभा सदस्य लीलाधर भट्ट लगायतको सहभागिता रहेको थियो । साक्षर घोषणा कार्यक्रमको शुरुमा जिल्लामा कार्यरत शिक्षक, विद्यार्थी, शैक्षिक सङ्घसंस्थामा आबद्घ व्यक्ति, शिक्षाप्रेमी, बुद्घिजीवीलगायतको सहभागितामा सदरमुकाम क्षेत्रमा ¥याली निकालिएको हो ।

A Levels MA