नेपालमा पहिलो जेब्राफिस अनुसन्धान केन्द्र स्थापना

नेपालमा पहिलो जेब्राफिस अनुसन्धान केन्द्र स्थापना

नेपालमा जेब्राफिस अनुसन्धानका लागि स्थापना गरिएको पहिलो संस्था ‘नेपाल जेब्राफिस इन नेचर सेन्टर’ (N-ZINC) ले आज भरतपुरमा औपचारिक रूपमा आफ्नो कार्यालय उद्घाटन गरेको छ। यससँगै विश्वव्यापी रूपमा महत्त्वपूर्ण मानिने अनुसन्धानको नमुना जीवलाई नेपालको वैज्ञानिक अनुसन्धानमा समावेश गर्ने दिशामा एउटा महत्त्वपूर्ण उपलब्धि हासिल भएको छ।

एन-जेडआइएनसीका अध्यक्ष प्रशान्तकान्त दाहालको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) का उपकुलपति प्रा. डा. ऋषिराम कट्टेल प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा प्राध्यापकहरू डा. पुष्करबहादुर पाल, डा. अर्जुनकुमार श्रेष्ठ र डा. उज्ज्वल तिवारी विशेष अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा अनुसन्धानकर्ता, कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राध्यापक तथा प्राध्यापकहरू मिलन घिमिरे, डा. छेत्रराज पाठक र सरोज रेग्मी, स्थानीय प्रतिनिधि, सरकारी अधिकारी तथा विद्यार्थीहरूको समेत उपस्थिति थियो।

जेब्राफिस (Danio rerio) दक्षिण एसियामा पाइने सानो आकारको उष्णप्रदेशीय स्वच्छ पानीको माछा हो। यो नेपालको दक्षिणी तराई क्षेत्रका जलाशयहरूमा समेत प्राकृतिक रूपमा पाइन्छ। मानिसमा पाइने करिब ७० प्रतिशत जीनसँग जेब्राफिसमा समान प्रकृतिका जीन पाइने भएकाले आनुवंशिकी, विकास जीवविज्ञान, विषविज्ञान तथा विभिन्न रोगसम्बन्धी अनुसन्धानका लागि यो महत्त्वपूर्ण मानिन्छ।

यसका साथै औषधिको परीक्षण तथा वातावरणीय अवस्थाको अनुगमनमा समेत जेब्राफिसको प्रयोग गरिन्छ। यसको पारदर्शी भ्रूणका कारण शरीरभित्र हुने वृद्धि र विकास प्रक्रियालाई प्रत्यक्ष अवलोकन गर्न सकिन्छ। यी विशेषताले विशेषगरी चिकित्सा विज्ञानसहित आधुनिक जीवविज्ञानको अनुसन्धानमा जेब्राफिसलाई व्यापक रूपमा प्रयोग गरिने नमुना जीव बनाएको प्राध्यापक पालले बताए।

नेपालका जलस्रोतहरूमा प्राकृतिक रूपमा पाइने भए पनि यहाँका जंगली जेब्राफिसको व्यवस्थित अनुसन्धान भने निकै सीमित रहेको छ। एन-जेडआइएनसीका अध्यक्ष दाहालले यस संस्थालाई प्राकृतिक बासस्थानमै जेब्राफिसको अध्ययन गर्ने र नेपालमै यससम्बन्धी अनुसन्धान क्षमता विकास गर्ने पहिलो संस्थागत प्रयासका रूपमा व्याख्या गरे।

एन-जेडआइएनसीले अमेरिकाका युनिभर्सिटी अफ ओरेगन र ड्युक विश्वविद्यालयसँग सहकार्यसमेत स्थापित गरेको छ। गत वर्ष दुवै विश्वविद्यालयका प्राध्यापकहरूले नेपाल भ्रमण गरी चितवनका विभिन्न स्थानबाट जेब्राफिसका नमुना संकलन गर्नुका साथै प्रारम्भिक अध्ययन गरेका थिए।

नेपालमा जेब्राफिससम्बन्धी अनुसन्धानलाई थप विस्तार गर्न दुवै विश्वविद्यालयका अनुसन्धान टोली इच्छुक रहेको बताइएको छ। यसै उद्देश्यका साथ उक्त टोली आगामी मार्च महिनामा पुनः नेपाल आउने र देशका विभिन्न स्थानमा जेब्राफिस पाइने थप प्राकृतिक बासस्थानको खोजी तथा अध्ययन गर्ने कार्यक्रम रहेको छ।

अध्ययन टोलीका सदस्य तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयका सहायक प्राध्यापक सरोज रेग्मीले आगामी दिनमा हुने प्रभावकारी सहकार्यले अनुसन्धानको यो सुरुवातलाई थप उचाइमा पुर्‍याउने र देशभित्र तथा बाहिरका विभिन्न संस्थालाई लाभ पुग्ने विश्वास व्यक्त गरे।

एन-जेडआइएनसीका उद्देश्य कृषि, जैविक विविधता, पशु चिकित्सा विज्ञान, वातावरण तथा वन विज्ञानसम्म विस्तारित छन्। संस्थाले अनुसन्धान परियोजना सञ्चालन गर्नुका साथै किसान, विद्यार्थी तथा अनुसन्धानकर्तालाई लक्षित गरी जनचेतना तथा ज्ञान विस्तारका कार्यक्रम सञ्चालन गर्ने लक्ष्य राखेको छ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य र सम्बन्ध विस्तार गर्दै जेब्राफिससम्बन्धी अनुसन्धानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने संस्थाको उद्देश्य रहेको छ।