विदेशमा MD/MS अध्ययन गरेका तर कोर्स अवधि नेपालको भन्दा कम भएका चिकित्सकले क्लिनिकल अभ्यास गर्नैपर्ने
विदेशमा MD/MS अध्ययन गरेका तर कोर्स अवधि नेपालको भन्दा कम भएका चिकित्सकले अब कम भएको अवधि बराबरको क्लिनिकल अभ्यास गरेपछि मात्र नामदर्ता परीक्षाको प्रमाणपत्र पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले यससम्बन्धी निर्णय सार्वजनिक गरेको हो।
नेपालमा MD/MS को पढाइ ३ वर्षको हुन्छ। आयोगबाट इलिजिबिलिटी लेटर लिएर चीनका विभिन्न विश्वविद्यालयमा पढ्न गएका केही विद्यार्थीको कोर्स अवधि नेपालको भन्दा केही महिना कम देखिएको थियो। त्यसैले नेपाल मेडिकल काउन्सिलले उनीहरूको नामदर्ता परीक्षाको आवेदन स्वीकार गरेको थिएन। समस्या समाधानका लागि केही विद्यार्थीले आयोगसमक्ष निवेदन दिएका थिए।
निवेदनपछि कात्तिक १९ गते आयोगका वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन समितिका पदाधिकारी र मेडिकल काउन्सिलका अध्यक्ष, रजिष्ट्रारलगायतको संयुक्त बैठक बसेको थियो। सो बैठकले कम भएको अवधि सम्बन्धित विश्वविद्यालय वा नेपालका शिक्षण संस्थामा आवासीय चिकित्सक (रेसिडेन्ट डाक्टर) सरह अभ्यास गराएर पूरा गर्न लगाउने निर्णय गर्यो।
निर्णयअनुसार सम्बन्धित विद्यार्थीले पहिला कबुलियतनामा गर्नुपर्नेछ। त्यसपछि उनीहरूलाई नामदर्ता परीक्षामा सहभागी गराइनेछ। तर परीक्षाको प्रमाणपत्र भने कम भएको अवधि बराबरको क्लिनिकल अभ्यास पूरा गरेपछि मात्र जारी हुनेछ।
आयोगले भविष्यका लागि पनि कडाइ गरेको छ। आगामी वर्षदेखि MBBS र BDS मा ५.५ वर्ष तथा MD/MS र MDS मा ३ वर्षभन्दा कम अध्ययन अवधि भएकालाई इलिजिबिलिटी लेटर जारी नगर्ने आयोगले जनाएको छ। उनीहरूलाई नामदर्ता परीक्षामा सहभागी हुन पनि नदिने बताएको छ।
यसैगरी, कोर्स अवधि नेपालको भन्दा कम भएका विदेशमा अध्ययन गरेका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप र रेसिडेन्सीको अवसर उपलब्ध नगराइने आयोगले मंसिर १ गते सूचना प्रकाशन गरी सबै सरोकारवालालाई जानकारी दिएको छ।