नेपाल संस्कृत विश्वविद्यालयको रिक्त उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले दरखास्त माग गरेको छ ।
कार्तिक २७ मा स्वीकृत ‘नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम दरखास्त आह्वान गरिएको हो ।
इच्छुक तथा योग्य व्यक्तिले कार्यविधिको अनुसूची–१ मा उल्लेख गरिएको ढाँचामा (दस दिनभित्र नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको उच्च शिक्षा शाखामा कार्यालय समयमा दरखास्त पेश गर्न आह्वान गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षाध्यक्ष प्रा डा भीमप्रसाद खतिवडालाई तीन महिनाका लागि गत भदौ १७ गते विश्वविद्यालयको निमित्त उपकुलपतिको जिम्मेवारी तोकेका थिए ।
प्रधानमन्त्री एवं कुलपति ओलीले सो विश्वविद्यालय ऐन, २०४६ को दफा १६ को उपदफा ६ बमोजिम उनलाई उक्त जिम्मेवारी दिएका थिए ।
तकालीन उपकुलपति प्रा डा यादवप्रकाश लामिछानेले गत साउन २७ गते राजीनामा दिएका थिए । उनको राजिनामा गत भदौ १ गते प्रधानमन्त्रीबाट स्वीकृत भएको थियो । कुलसचिव र उपकुलपतिको व्यक्तिगत टकरावका कारण उनले राजिनामा दिएका थिए । दुवे जना एमाले निकट भए पनि शिक्षाध्यक्ष र उपकुलपतिको कार्यशैली फरक परेका कारण एमालेकै दवावमा उनले राजिनामा दिएका थिए।
उपकुलपतिको कार्यकाल गत असोज १० गते सकिएको थियो ।