
लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयले लुम्बिनीमा बौद्ध दर्शन केन्द्रीत र बुटवल तथा देवदहमा प्रयोगिक बौद्धअन्तर्गतका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । स्नातक, स्नातकोत्तर तथा विद्यावारीधि तहमा विदेशी विद्यार्थी भर्ना भएका छन् ।
विश्वविद्यालयमा चीन, भारत, श्रीलङ्का, भुटान, म्यानमार, जापान, मलेसिया, ताइवानलगायत देशका विद्यार्थीहरूले अध्ययन गरिरहेका छन् । सबैभन्दा धेरै चीनका विद्यार्थी रहेका छन् । बुद्धिजम एण्ड नेपाल अध्ययन, बुद्धिजम एण्ड पीस, बुद्धिजम एण्ड हिमालयसहितका विषयमा विदेशी विद्यार्थीको आकर्षण देखिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन सङ्कायका डीन डा माणिकरत्न शाक्यले विद्यावारीधिदेखि स्नातक तहसम्मै विदेशी विद्यार्थी भर्ना भएको बताए । ‘हामी गुणस्तरीय शिक्षा प्रदानमा प्रतिबद्ध रहेका छौँ, यसैले पनि विदेशीमा विद्यार्थीले हाम्रो विश्वविद्यालयलाई विश्वास गरेका छन्’, उनले भने ।
विश्वविद्यालयमा हाल एक सय ५७ जना विदेशी विद्यार्थी अध्ययनरत रहेका छन् । नयाँ भइरहेको स्नातक र स्नातकोत्तर तहको भर्नामा पनि विदेशी विद्यार्थीले आवेदन दिएका छन् । विश्वविद्यालयमा कूल तीन हजार विद्यार्थी अध्ययन गर्दै आइरहेका छन् ।
लुम्बिनी बौद्धको सर्टिफिकेट चीनको सरकारद्वारा मान्यता
लुम्बिनी बौद्ध विश्वविद्यालयको सर्टिफिकेट चीनको शिक्षा मन्त्रालयले मान्यता दिने निर्णय गरेको छ । चीनको शिक्षा मन्त्रालय अन्तर्गतको स्कलर्स आदानप्रदान सेवा केन्द्रले विद्यार्थीले लुम्बिनी बौद्ध विश्वविद्यालयबाट प्राप्त गरेको उपाधिलाई मान्यता दिने भन्दै सूचिकृत गरेको छ ।
स्कुल अफ डेभलपमेन्ट स्टडिज एण्ड एप्लाइड साइन्सका निर्देशक डा कुमार खड्काले चीनमा विश्वविद्यालयको उपाधिले मान्यता पाउने निर्णयले विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै जाने बताए । ‘चिनियाँ विद्यार्थी प्रमाणपत्रले मान्यता पाउँछ कि पाउँदैन भन्नेमा चिन्तित थिए, अब त्यो समस्या समाधान भएको छ’, उनले भने ।
विश्वविद्यालयले देवदहमा शैक्षिक गुरुयोजना कार्यान्वयन गरी १६ हजार विदेशी विद्यार्थी अध्यापन गराउने लक्ष्य राखेको छ । सो योजना कार्यान्वयनको चरणमा रहेको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयले विदेशी विद्यार्थीको सहजताका लागि छात्रावाससमेत निर्माण गरिरहेको छ । सो पूर्वाधारपछि अझ धेरै विद्यार्थी बढ्ने अपेक्षा गरिएको छ ।
विश्वविद्यालयले सम्बन्ध विस्तारका लागि झण्डै ८० अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गरेको छ । सोही सहकार्यअन्तर्गत लुम्बिनी बौद्ध विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी सेमेष्टर एक्सचेन्जअन्तर्गत चीनका केही विद्यालयमा अध्ययनका लागि पुगेका छन् । ६४ जना विद्यार्थीले एक्सचेन्ज कार्यक्रम सकेर उपाधि हात पारेका छन् । केही समयअघि मात्रै ४८ जना विद्यार्थीहरूले चीनका विश्वविद्यालयमा अध्ययनका लागि पूर्ण छात्रवृत्ति हासिल गरेका थिए ।


