After SEE Portal

विद्यालय तहमा अब पाँच वर्षसम्म प्रश्न दोहोरिँदैन

Bridge Course

कक्षा ८, १० र १२ को वार्षिक परीक्षामा अबदेखि कम्तीमा पाँच वर्षसम्म प्रश्न नदोहोरिने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले सो तहका लागि स्तरीकृत प्रश्नपत्र बैङ्क तयार गरिरहेको छ । कक्षा १० र १२ मा आगामी २०७९ को शैक्षिकसत्रबाट तथा कक्षा ८ मा आगामी २०८० सालको शैक्षिकसत्रबाट स्तरीकृत प्रश्नपत्रका आधारमा परीक्षा सञ्चालन गरिनेछ ।

बोर्डका अनुसार पहिलो चरणमा अनिवार्य विज्ञान, अङ्ग्रेजी र गणित विषयमा स्तरीकृत प्रश्नपत्र बैङ्क तयार हुनेछ । प्रदेश र स्थानीय तहले बोर्डले तयार गर्ने प्रश्नपत्र बैङ्कबाट प्रश्न प्राप्त गरी परीक्षाका लागि प्रश्नपत्र तयार गर्नसक्नेछन् ।

बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सोधिने प्रश्नमा सुधार आवश्यक रहेको बताउँदै भने, “अब स्तरीकृत प्रश्नपत्र तयार गरेर परीक्षा प्रणालीमा सुधार गरिनेछ ।” उनले प्रश्नपत्र बैङ्कमा प्रदेश र स्थानीय तहकाे पहुँच पुर्याइने बताए ।

शिक्षकले परीक्षाका लागि पुराना प्रश्नपत्रका आधारमा प्रश्न तयार गर्ने र बर्सेनि जसो प्रश्न दोहोरिने गरेको छ । यस्तो प्रवृत्तिका कारण विशेष गरी गाइड, गेसपेपर, नमुना प्रश्नपत्रको सङ्गालो आदिको व्यापार गर्नेहरूलाई कमाउ धन्धा सञ्चालन गर्न बल पुगेको छ । परीक्षामा सोधिएका पाँच वर्षका प्रश्नपत्र अभ्यास गरेर परीक्षाको तयारी गर्ने प्रवृत्ति पनि विद्यार्थीमा झाङ्गिएको छ । 

लिट्टिल एन्जेल्स स्कुलका प्रिन्सिपल मुकुन्दराज शर्माले दुई घण्टाभित्र प्रश्नपत्र तयार गर्ने प्रवृत्ति शिक्षकहरूमा भएको बताउँदै भने, “समस्या प्रश्नपत्र तयार गर्दा छ । विगतका केही वर्षका प्रश्नपत्र हेरेर परीक्षाको तयारी पुग्ने प्रवृत्ति छ । त्यसैले प्रश्न नदोहोरिने पद्धति आवश्यक छ ।”

राष्ट्रिय परीक्षा बोर्डले स्तरीकृत प्रश्नपत्रसम्बन्धी ढाँचा तयार गरेको छ । बोर्डले सुरुमा कक्षा १० को अङ्ग्रेजी, विज्ञान र गणित विषयमा ३०, ३० सेट तयार गरेको थियो । त्यसबाट १० वटा सेट तयार गरिएको थियो । त्यसलाई ४३ विद्यालयका चार हजार २९६ विद्यार्थीमा परीक्षण गरिएको थियो । 

बोर्डका सदस्यसचिव दुर्गा अर्यालले परीक्षा केन्द्रीत पठनपाठन हुने गरेको र स्तरीकृत प्रश्नपत्रका कारण पठनपाठनमा सुधार हुने अपेक्षा गरिएको बताए । “परीक्षामा त्रुटिका कारण असमान नतिजा आउने गरेको छ । एउटा पालिका र अर्काे पालिकाको प्रश्नस्तर फरक छ” उनले भने, “अब स्तरीकृत प्रश्नपत्र आवश्यक छ । हरेक प्रदेश र पालिकाले सञ्चालन गर्ने परीक्षास्तरमा समानता आउने छ ।”

शिक्षाविद् प्रा.डा. गणेश सिंहले एउटा प्रदेश वा पालिकाको प्रश्नको स्तर अर्काे प्रदेश वा पालिकाको स्तर कम हुनुहुँदैन भन्दै समानस्तरको प्रश्न आवश्यक रहेको बताए ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (राष्ट्रिय प्याब्सन)का सहअध्यक्ष सुवास न्यौपानेले विद्यार्थीमा किन र कसरी भन्ने जिज्ञाशाको विकास नहुन्जेल सिर्जनशीलताको विकास हुन नसक्ने बताउँदै कर्मचारीतन्त्रले योजना र दृष्टिकोण बनाउने तथा विज्ञहरूले शिक्षकसमक्ष पु¥याउनुपर्ने बताए ।

प्याब्सनका अध्यक्ष डीके ढुङ्गानाले अक्षराङ्कनले स्वतः उत्तीर्ण हुने भन्ने मानसिकता रहेको बताउँदै विद्यार्थीको मूल्याङ्कन कहीँकतै कडाइ गर्नुपर्ने बताए ।  

A Levels MA
Thuprai - Books and E-books