उपत्यकाभित्र सबै पालिकामा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्ति

उपत्यकाभित्रका सबै नगरपालिकाले प्रधानाध्यापक नियुक्तिमा अबदेखि ‘सूर्यविनायक नगरपालिका मोडेल’ लाई अपनाउने भएका छन् ।  

उपत्यकाभित्रका नगरप्रमुखहरुको संस्था भ्याली मेयर्स फोरमको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

फोरमका अध्यक्ष तथा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सूर्यविनायक नगरपालिकाले अपनाएको विधिलाई नै अवलम्बन गर्ने निर्णय भएको जानकारी दिए । “यसो गर्दा राजनीतिक आस्था राख्नेभन्दा योग्य र सक्षम व्यक्तिले प्रधानाध्यापकको जिम्मेवारी पाउने अवस्था रहन्छ” उनले भने, “त्यसैले त्यो मोडेल उपयुक्त लागेर सबैले त्यसलाई कार्यान्वयन गर्ने निणर्य ग¥यौँ ।”

उपत्यकाभित्र काठमाडौँ र ललितपुर महानगरपालिकाका साथै अन्य १६ वटा नगरपालिका छन् ।

सूर्यविनायक नगरपालिकाले सामुदायिक विद्यालय प्रधानाध्यापक नियुक्तिसम्बन्धी कार्यविधि कार्यान्वयनमा ल्याएको छ । त्यसमा पालिकाभित्रका स्थायी शिक्षकमध्येबाट प्रधानाध्यापक नियुक्ति गर्ने व्यवस्था छ । खुला प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक नियुक्त गर्न आवेदन माग गर्ने र आवेदन परेकाहरुबाट विद्यालय विकास प्रस्ताव ग्रहण गर्ने तथा अन्तर्वार्ता पनि लिने विधि कार्यविधिमा स्पष्ट छ । यसरी छनोट गरिएका शिक्षकलाई पाँच वर्षका लागि नियुक्ति गर्ने व्यवस्था छ । सो पालिकाभित्र ३२ वटा सामुदायिक विद्यालय छन् र तिनमा नयाँ प्रअको व्यवस्थापन सोही कार्यविधिका आधारमा गरिएको हो ।

Thuprai - Books and E-books