राष्ट्रिय शिक्षा दिवसमा प्रदान गरिने विद्याभूषणका लागि आवेदन दिनेहरूको सङ्ख्या धमाधम थपिँदै गएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार आज मङ्गलबार दिउँसो ५ बजेसम्ममा नेपाल विद्याभूषण ‘क’का लागि ८८ जनाको, नेपाल विद्याभूषण ‘ख’ र ‘ग’ का लागि छ, छ जनाको आवेदन परेको छ ।
त्यस्तै छात्रा विद्यापदक ‘क’का लागि हालसम्म दुई जनाको आवेदन परेको छ भने छात्रा विद्यापदक ‘ख’का लागि आवेदनको सङ्ख्या शून्य छ ।
आवेदन यही भदौ १६ गतेसम्म दिन सकिने छ । विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ख’ बाट, स्नातक तहमा सर्वाेत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ग’, स्नातक तहमा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘क’ बाट, कक्षा १२ को परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट र प्राविधिक शिक्षामा स्नातक वा सोभन्दा माथि सर्वोत्कृष्ट हुनेलाई नेपाल प्रविधि विद्याभूषणबाट पुरस्कृत गर्ने व्यवस्था छ । नेपाल प्रविधि विद्याभूषण गत वर्ष नयाँ थपिएको हो र कृषि, पशु विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान एवं विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट हुनेलाई यो पुरस्कार उपलब्ध गराइन्छ ।
आवेदन दिनेहरूले विद्याभूषणका साथमा प्रमाणपत्रमात्र प्राप्त गर्नेछन् । उनीहरूले पदक पाउने छैनन् । शिक्षामन्त्री विद्या भट्टराईले बजेट विनियोजन नभएकाले पदक उपलब्ध गराउन नसकिने स्पष्ट गर्दै भनिन्, “गत वर्षहरूका र यस वर्ष पुरस्कृत हुनेहरूले प्रमाणपत्र पाउनेछन् । पदक प्रदान गर्न आर्थिक स्रोत जुट्न सकेन ।”
मन्त्रालयका अनुसार गत वर्ष नेपाल विद्याभूषण ‘क’ ७९० जनालाई, नेपाल विद्याभूषण ‘ख’ ७१ जनालाई, नेपाल विद्याभूषण ‘ग’ ४४ जनालाई, नेपाल छात्रा विद्यापदक ‘क’ २८ जनालाई, नेपाल छात्रा विद्यापदक ‘ख’ १८ जनालाई र नेपाल प्रविधि विद्याभूषण ११ जनालाई प्रदान गर्न नाम घोषणा गरिएको थियो ।
विगतमा राष्ट्रपतिका हातबाट पदक र प्रमाणपत्र प्रदान गर्ने गरिएकोमा यसपटक प्रमाणपत्र मात्र उपलब्ध गराइँदा राष्ट्रपतिमार्फत नदिने सोच मन्त्रालयले बनाएको थाहा भएको छ । मन्त्रालय सूत्रका अनुसार प्रमाणपत्रमा राष्ट्रपतिकै हस्ताक्षर गराइनेछ तर नाम सार्वजनिक भएका विद्यार्थीले मन्त्रालयमा आएर प्रमाणपत्र लिनसक्ने छन् ।