Bachelors Portal

छात्रा विद्यापदक ‘ख’​​​​​​​का लागि आवेदन परेन

राष्ट्रिय शिक्षा दिवसमा प्रदान गरिने छात्रा विद्यापदक ‘ख’का लागि कसैले पनि आवेदन दिएनन् ।

कक्षा १२ वा सिटिइभिटीको डिप्लोमा परीक्षामा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘ख’ बाट पुरस्कृत गरिन्छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यापदकका लागि आवेदन आह्वान गरेको थियो । छात्रा विद्यापदक ‘ख’का लागि आवेदन शून्य परेको थाहा भएको छ ।

मन्त्रालयका पदाधिकारीका अनुसार त्यस्ता परीक्षार्थीले आवेदन माग गरिएको बारेमा जानकारी नै नपाएको हुनसक्ने अनुमान गरिएको छ ।

मन्त्रालयका अनुसार नेपाल विद्याभूषण ‘क’का लागि २६५ जनाको, नेपाल विद्याभूषण ‘ख’का लागि ४४ जनाको र नेपाल विद्याभूषण ‘ग’का लागि २१ जनाको आवेदन परेको छ । त्यस्तै छात्रा विद्यापदक ‘क’ का लागि १४ जनाको आवेदन परेको छ । आवेदन भदौ १६ गतेसम्म दिन सकिने गरी समयावधि तोकिएको थियो ।

विद्यावारिधि उपाधि हासिल गरेकालाई नेपाल विद्याभूषण ‘क’ बाट, स्नातकोत्तर तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ख’ बाट, स्नातक तहमा सर्वोत्कृष्ट हुनेलाई नेपाल विद्याभूषण ‘ग’, स्नातक तहमा सर्वोत्कृष्ट हुने छात्रालाई नेपाल छात्रा विद्यापदक ‘क’ बाट पुरस्कृत गर्ने प्रावधान निर्देशिकामा छ ।

प्राविधिक शिक्षामा स्नातक वा सोभन्दा माथि सर्वोत्कृष्ट हुनेलाई नेपाल प्रविधि विद्याभूषणबाट पुरस्कृत गर्ने व्यवस्था छ । नेपाल प्रविधि विद्याभूषण गत वर्ष नयाँ थपिएको हो र कृषि, पशु विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, वन विज्ञान एवं विज्ञान तथा प्रविधि विषयमा सर्वोत्कृष्ट हुनेलाई यो पुरस्कार उपलब्ध गराइन्छ । यसका लागि विश्वविद्यालय अनुदान आयोगले नै विद्यार्थी सिफारिस गर्ने छ । आयोगले अझैसम्म मन्त्रालयले सिफारिस गरिएको फेहरिस्त बुझाइसकेको छैन ।

मन्त्रालयका अनुसार गत वर्ष नेपाल विद्याभूषण ‘क’ ७९० जनालाई, नेपाल विद्याभूषण ‘ख’ ७१ जनालाई, नेपाल विद्याभूषण ‘ग’ ४४ जनालाई, नेपाल छात्रा विद्यापदक ‘क’ २८ जनालाई, नेपाल छात्रा विद्यापदक ‘ख’ १८ जनालाई र नेपाल प्रविधि विद्याभूषण ११ जनालाई प्रदान गर्न नाम घोषणा गरिएको थियो ।

Thuprai - Books and E-books