शक्ति संघर्षको चेपुवामा कृषि विश्वविद्यालय, परीक्षा, प्रवेश परीक्षासमेत अनिश्चित

चितवन रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) विगत दश दिनदेखि तनावग्रस्त छ ।  सत्ता साझेदार दलको शक्ति संघर्षका कारण विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक गतिविधि प्रभािवत भएको छ ।

दुई समूहको शक्ति युद्धका कारण विश्वविद्यालयले असुरक्षाको कारण देखाएर गत भदौ १५ गते शैक्षिक तथा प्रशानिक गतिविधि अनिश्चित कालका लागि बन्द गरेको घोषणा गरेको छ ।

विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निटक र कुलपति बनाउने समर्थक दलले नै विश्वविद्यालयमा प्रत्यक्ष हस्तक्षेप गरेर विश्वविद्यालयलाई तनावग्रस्त बनाएको एक पदाधिकारीले बताए । ती पदाधिकारीका अनुसार विश्वविद्यालयको छात्रावासमा एमाले र काङ्ग्रेस निकट विद्यार्थीविच भदौ १३ गते झडप भएको थियो ।  झडप हिंसामा बदलिने सम्भावना देखिएपछि विश्वविद्यालय प्रशासनले १४ गते छात्रावास खाली गराएको थियो । १५ गते विश्वविद्यालयका पदाधिकारीको बैठक बसिरहेको समयमा काङ्ग्रेस नेताको निर्देशनमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा विद्यार्थीको एक समूहले ताला लगाएको थियो ।  ‘विद्यार्थीविच भएको झडपले हिंसात्मक रुप लिएको छ, केही विद्यार्थीलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने केही सामान्य घाइते भएका छन् ।’ ती पदाधिकारीले भने, ‘विश्वविद्यालयका संरक्षक तथा कुलपति भने तनावग्रस्त विश्वविद्यालयलाई हेरेर तुक्का घोकेर बसी रहेका छन् ।’

दल सम्बद्ध विद्यार्थी आफ्नै कारण देखाए पनि केही विद्यार्थीले आफूले पढ्न तथा परीक्षा दिन नपाएको भन्दै गुनासो गरिरहेका छन् ।

घटनाको छानबिन गर्न विश्वविद्यालयले प्राध्यापक भूमिनन्दन देवकोटाको अध्यक्षतामा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ । विश्वविद्यालय खुल्ने वातावरण बनाउन रजिस्टारले अपिलगर्दै विज्ञप्ति जारी गरे पनि नेविसंघ तालाबन्दी नखोल्ने पक्षमा देखिएको छ । घटनामा संलग्न भएका पक्राउ र छानविन समितिको प्रतिवेदन नआएसम्म  तालाबन्दी नखुल्ने काङ्ग्रेस विद्यार्थीको अडान छ ।

विश्वविद्यालय अगामी भदौ २६ गते हुने सिनेट बैठकको तयारीमा रहेको बताइएको छ र विश्वविद्यालयका विभिन्न संकायलपे स्नातक तहको प्रवेश परीक्षा समेत अनिश्चित भएको विज्ञप्ति निकाली रहेका छन् ।

 विश्वविद्यालयका ९ आंगिक र ८ सम्बन्धन प्राप्त क्याम्पसमा ४५ सय विद्यार्थी अध्ययनरत छन् ।