थप पाठ्य सामग्री तथा डिजिटल सामग्री मूल्याङ्कन सम्बन्धी सूचना : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
पाठ्यक्रम विकास केन्द्र
थप पाठ्य सामग्री तथा डिजिटल सामग्री मूल्याङ्कन सम्बन्धी सूचना
मौजुदा शिक्षा ऐन तथा नियमावलीमा उल्लेख भएअनुसार विद्यालयले थप पाठ्य सामग्री तथा पाठ्य पुस्तक प्रयोग गर्न चाहेमा स्वीकृति लिनुपर्ने प्रावधानअनुसार शैक्षिक वर्ष २०७७ देखि लागु हुने गरी थप पाठ्य सामग्रीका रूपमा सामग्री स्वीकृत गर्न चाहने प्रकाशक तथा लेखकहरूले निम्नानुसारको समयावधिभित्र स्वीकृतिका लागि आवश्यक कागजातसहित निवेदन पेस गर्न सूचना प्रकाशन गरिएको छ।
तपसिल बमोजिमको सेवा शुल्क (राजस्व) राष्ट्रिय वाणिज्य बैङ्क पुरानो ठिमी, भक्तपुरमा रहेको राजस्व खाता नम्बर १०००२०००१०००० राजस्व शीर्षक नम्बर १४२२३ र पाठ्यक्रम विकास केन्द्रको कार्यालय कोड नम्बर ३५००२३३०१ मा रकम दाखिला गरेको भौचरको सक्कल प्रतिसहित थप पाठ्य सामग्री तथा डिजिटल सामग्री यस केन्द्रमा पेस गर्नुपर्ने कुरा जानकारी गराइन्छ।
तपसिल
| क. स. | कक्षा | प्रति सामग्री राजस्व दर रु | प्रति डिजिटल सामग्री राजस्व दर रु | कैफियत |
| १. | कक्षा १ देखि कक्षा ३ सम्म | १०,०००/- | १०,०००/- | डिजिटल सामग्री पेस गर्दा Link सहित Soft copy र Hard copy समेत पेस गर्नुपर्ने छ । |
| २. | कक्षा ४ देखि ८ सम्म | १५,०००/- | १५,०००/- | '' |
| ३. | कक्षा ९ र १० सम्म | १७,०००/- | १७,०००/- | '' |
| ४. | कक्षा ११ र १२ | २०,०००/- | २०,०००/- | '' |
सामग्री पेस गर्नुपर्ने समयः कक्षा १ र डिजिटल सामग्रीका हकमा २०७६ साल मङ्सिर मसान्तसम्म र अन्य सामग्रीका हकमा २०७६ साल कात्तिक मसान्तसम्म ।
मूल्याङ्कनका लागि सामग्री पेस गर्दा अपनाउनुपर्ने विधि र सर्त
लेखक वा प्रकाशकले कक्षा १ देखि कक्षा १२ सम्मका विद्यार्थीको सिकाइ सहजीकरणका लागि कक्षाकोठामा प्रयोग गर्ने उद्देश्यले तयार पारेका मुद्रित तथा डिजिटल सामग्री स्वीकृतिका लागि पेस गर्नुपर्ने छ । निर्धारित पाठ्यक्रम संरचनानुसार तयार नभएका वा पाठ्यक्रमले तोकेभन्दा बाहेक विभिन्न विषयलाई एउटै विषयमा समेटी तयार पारिएका, वा पाठ्यक्रममा उल्लेख नभएका विषयका सामग्री एवम् गाइड र गेस पेपर स्वीकृत हुने छैनन् ।
सामाजिक अध्ययन विषय नेपाली वा नेपालमा उत्पत्ति भएका मातृभाषाका माध्यमले पठनपाठन गराउनुपर्ने भएकाले कक्षा १ को हाम्रो सेरोफेरो विषयको माध्यम भाषा पनि सोहीअनुसार हुनुपर्ने छ।
विषयवस्त, अभ्यास, चित्र, लेआउट डिजाइनसहितको पूर्ण स्वरूपका सामग्री (Complete Document) तीन तीन प्रतिका दरले पेस गर्नुपर्ने छ । अपूर्ण स्वरूपका सामग्रीउपर कुनै कारवाही हुने छैन ।
सामग्रीमा सामग्रीको नाम, लेखकको नाम र नेपाल सरकारले तोकेको मापदण्डअनुसारको कागज तथा छपाइ गुणस्तर हुनुपर्ने छ । कागज तथा छपाइ गुणस्तरसम्बन्धी जानकारी यस केन्द्रबाट प्राप्त गर्न सकिने छ ।
निवेदनसाथ लेखकले लेखन/प्रकाशनका लागि दिइएको स्वीकृति र व्यक्तिगत विवरणसमेत अनिवार्य पेस गर्नुपर्ने छ।
आधारभूत तहका लागि कम्तीमा स्नातक र माध्यमिक तहका लागि कम्तीमा स्नातकोत्तर तथा शिक्षण/प्रशिक्षण वा अनुसन्धानको क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको लेखक हुनुपर्ने छ।
सामग्री प्रकाशन गर्दा केन्द्रको प्रकाशन शैलीअनुसार भाषिक तथा साजसज्जागत सम्पादन गर्नुपर्ने छ।
सामग्रीमा लेखकको नाम र शैक्षिक योग्यताबाहेक तस्विर वा अन्य विवरण राख्न पाइने छैन ।
व्यक्ति लेखक तथा प्रकाशक भएको हकमा PAN मा दर्ता भएका एवम् निजी प्रकाशन गृह भएका हकमा नियमानुसार दर्ता भएको, कर तिरेको र नवीकरणसमेत भएको हुनुपर्ने छ।
तोकिएको समयावधिपछि पेस हुन आएका सामग्रीलाई मूल्याङ्कन प्रक्रियामा समावेश गरिने छैन र स्वीकृति नलिई सामग्री बिक्रीवितरण गरेको पाइएमा नियमानुसार कारबाही हुने छ।
थप जानकारीका लागि फोन : ६६३४९१६, ६६३०५८८, वेबसाइट:www. moecdc.gov.np