एसईई आन्तरिक मूल्यांकन बाटै

सरकारले यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ। सोमबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको मन्त्रिपरिषद बैठकले एसईई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको माध्यमिक शिक्षा परीक्षा (एस.इ.इ) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदले स्वीकृति दिएको हो ।

कोरोना महामारीका कारण विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा गर्न सकिने अवस्था नरहेको, विद्यालयलाई परीक्षा सञ्चालन गर्न दिँदा विद्यार्थीमा सङ्क्रमण गर्न सक्ने खतरा अत्यधिक रहेको र अनलाइनबाट परीक्षा सञ्चालन गर्दा एसईई परीक्षामा सहभागी हुने सबै विद्यार्थीमा प्रविधिको पहुँच नपुग्ने भएकाले गत वर्षको जस्तै आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको शिक्षा मन्त्रालयले जानकारी दिएको छ ।

कोभिडको सङ्क्रमण बढ्दै गएको र बालबालिकालाई थप जोखिम हुने खतरा रहेकाले गत वर्षकै प्रक्रियालाई निरन्तरता दिँदै एसइईको आन्तरिक मूल्याङ्कनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय सरकारले गरेको हो ।

मन्त्रालयले सरकारको निर्णय कार्यान्वयनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई परिपत्र गर्ने भएको छ । बोर्डले यस वर्ष जेठ १३ गतेदेखि एसइई परीक्षा भौतिकरूपमा नै सञ्चालन गर्ने गरी गर्ने परीक्षा तालिका सार्वजनिक गरे पनि कोभिड महामारीका कारण वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी भएको र बालबालिकामा सङ्क्रमण बढेपछि सरकारले वैशाख २७ गते एसईई  र कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो ।

त्यसपछि बोर्डले एसईई परीक्षा सञ्चालन गर्नेबारे शिक्षा विभागका महानिर्देशक वैकुण्ठ अर्यालको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले परीक्षाका लागि चार वटा विकल्प प्रस्तुत गरेको थियो ।

पहिलो गत वर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्ने, दोस्रो विद्यार्थीलाई प्रश्न पत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेस्रो भौतिक दूरी कायम गर्दै बोर्ड आफैँले सञ्चालन गर्ने वा विद्यालयलाई परीक्षा सञ्चालनको जिम्मा दिने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी आन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को प्रवेश परीक्षालाई कडाइ पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिँदा कडाइ गर्ने विकल्प पेश गरेको बोर्डले जानकारी दिएको छ ।

यस वर्ष बोर्ड र प्याब्सनका केही पदाधिकारीले भने विद्यालयलाई परीक्षाको जिम्मा दिने गरी निर्णय गर्नुपर्नेमा जोड दिएका थिए तर विद्यालयलाई जिम्मा दिँदा विद्यार्थीमा सङ्क्रमण फैलिए त्यसको जिम्मेवारी को हुने भन्ने सवाल खडा भएको बताइएको छ । यस वर्ष देशभरिबाट करिब पाँच लाख १७ हजार विद्यार्थी एसईई परीक्षाको तयारी छन् । गत वर्ष कोरोना महामारीका कारण एसईईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो ।

कार्यविधिअनुसार गत वर्ष विद्यालयका प्रधानाध्यापक, कक्षा शिक्षक र अनुभवी शिक्षक गरी तीन सदस्यीय मूल्यांकन समितिले पहिलो त्रैमासिक अवधिको मूल्यांकन १० प्रतिशत, दोस्रो त्रैमासिक अवधिको मूल्यांकन ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्म निर्धारित सबै विषयवस्तु मूल्यांकन गरी विद्यालयले राष्ट्रिय परीक्षा बोर्डमा पठाएको नतिजा प्रमाणीकरण गरेको थियो ।

असार महिनाअघि नै एसईईको आन्तरिक मूल्यांकन सक्ने तयारी रहेको मन्त्रालयले जानकारी दियो ।गत वर्षकै आधारमा यो वर्ष पनि नतिजा तयार पारिने भएपछि गत वर्षको जस्तो गल्ती नदोहोर्याउन कार्यविधिमा केही संशोधन गर्न सकिने संकेत बोर्डले दिएको छ ।  विज्ञहरूले गत वर्षको कमीकमजोरी कार्यविधिमा संशोधन गर्नुपर्ने औंल्याएका थिए ।सोही सुझावलाई मध्यनजर गर्दै बोर्डले कार्यविधि संशोधन गर्न सकिने जानकारी दियो ।

Thuprai - Books and E-books