सातौँ राष्ट्रिय विज्ञान दिवसको सप्ताह शुरु

काठमाडौँ, २६ भदौ (रासस): शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहमा विज्ञानलाई प्रश्रय दिँदै साताव्यापीरुपमा सातौँ राष्ट्रिय विज्ञान दिवस मनाउन शुरु गरेको छ । प्रदेश र स्थानीत तहमा समेत आजदेखि शुरु भएको सो सप्ताहअन्तर्गत हाजिरीजवाफ, निबन्ध र कविता प्रतियोगिता, नवप्रवर्तनात्मक कार्यक्रम, संवाद, कला र आविष्कार प्रदर्शनी आदि गतिविधि गरिने छन् । दिवसको नारा ‘विज्ञान, प्रविधि र नवप्रवर्तन ः सामाजिक आर्थिक रुपान्तरण’ रहेको छ । दिवसका लागि शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ ।

दिवसको मूल समारोह समितिको कार्यक्रम आउँदो असोज १ गते राष्ट्रियसभा गृह, भृकृटीमण्डपमा हुने र सो दिन कक्षा १२ मा विज्ञान विषयमा उत्कृष्ट अङ्क ल्याउने सात प्रदेशका सामुदायिक र निजी विद्यालयका एक एक गरी १४ विद्यार्थीलाई पुरस्कृत गरिनेछ । यसैगरी, विज्ञान विषयमा कलम चलाउने दुई पत्रकार र नयाँ अनुसन्धान गर्ने संस्थालाई पुरस्कृत गरिने कार्यक्रम रहेको आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही दिन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले कुलपति नवप्रवर्तन पुरस्कारको घोषणा गर्ने मन्त्रालयका सचिव डा सञ्जय शर्माले जानकारी दिनुभयो ।

दिवसका अवसरमा बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी, विज्ञान शिक्षक समाज, रोबोटिक्स एशोसिएशनलगायतले पनि विभिन्न प्रदर्शनी गर्नेछन् । साताव्यापी कार्यक्रम असोज ५ गतेसम्म चल्नेछ ।

सचिव शर्माले विज्ञान विषयलाई सञ्चारमाध्यमले प्राथमिकता दिई वैज्ञानिकहरुलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले विज्ञान र प्रविधिको उपयोग र जनचेतना फैलाउने लक्ष्यका साथ २०६९ मङ्सिर ८ गते निर्णय गरी हरेक असोज १ का लागि दिवस मनाउने तय गरेको थियो । नेपाल सरकारले राष्ट्रिय विज्ञान नीति पनि जारी गर्ने तयारी गरेको छ ।