Bachelors Portal

एसइईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एसइई परीक्षामा कम्तीमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइन कक्षा सञ्चालन गर्न लागिएको बताए ।

काठमाडौं विश्वविद्यालयको २९औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले अङ्ग्रेजी, गणित, विज्ञानलगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमबाट विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिए।

“पचास प्रतिशतको हाराहारीमा मात्रै एसइईमा उत्तीर्ण हुनुे अवस्था विद्यार्थीमाथिको अन्याय हो । यस्तो अवस्थालाई अन्त्य गर्न मैले शिक्षा मन्त्रालय, नेपाल टेलिकमलगायत निकायलाई आवश्यक प्रबन्धका लागि निर्देशन दिइसकेको छुु”, उनले भने, “धेरैभन्दा धेरै विद्यार्थी उत्तीर्ण गराउने गरी हामीले काम थालिसकेका छौँ ।”

उनले अहिलेको सरकार किन बनेको रहेछ भन्ने कुरा परिणाममा देखाउने गरी काम गर्ने समेत बताए । उनले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढताकासाथ अघि बढ्ने पनि स्पष्ट गरे ।

आफूूले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताए ।

प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न सङ्कायमा दीक्षित विद्यार्थीलाई आफूूले प्राप्त गरेको ज्ञान–सीपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह गरे ।

उनले भने, “अब तपाईँहरु संसारका जुनसुकै कुनामा गएर पनि क्षमता प्रदर्शन गर्न सक्नुुहुन्छ । तपाईँहरुका लागि संसार खुल्ला छ । तपाईंहरुलाई अभिभावकको लगानी र स्नेहको प्रतिफलका रुपमा यो सफलता प्राप्त गर्नुभएको छ, त्यसलाई सही सदुुपयोग गर्नुस्, सेवाभावको सुयोग्य नागरिक बन्नुस् ।”

प्रधानमन्त्री ओलीले स्नातकोत्तर तहमा स्कुल अफ आर्टस्मा चार सिजिपिए ल्याउने मिजला चित्रकारलाई चान्सलर स्वर्णपदक, स्कुल अफ साइन्सबाट स्नातक तहमा चार सिजिपिए ल्याउने मुकेश तिवारीलाई भाइस चान्सलर स्वर्णपदक प्रदान गरे ।

साथै स्नातक तहमा मणिपाल कलेज अफ मेडिकल साइन्स पोखराका स्वीकार दाहाललाई भाइस–चान्सलर स्वर्णपदक, विराट मेडिकल कलेज विराटनगरका रस्मिता पौडेललाई न्हुछेरत्न तुलाधर स्वर्णपदक, स्कुल अफ मेडिकल साइन्सेजमा अर्जुन दासलाई रमेशप्रसाद सिंह स्वर्णपदक र स्कुल अफ एजुकेशनको रनिषा पौडेललाई महेशनाथ पराजुली स्वर्णपदक प्रदान गरेका छन् ।

श्रावण ३० गते बालुवाटारस्थित प्रधानमन्त्री निवासमा प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न भएको विश्वविद्यालय सभाको ९७औं बैठकले विद्यार्थीहरुको ग्रेस लिस्ट पारित गरेको थियो । यसैबमोजिम सो समारोहमा विश्वविद्यालयअन्तर्गत स्कुल अफ आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विधाका पीएचडी, डीएम र एमसीएच तहका ११ जना, एमफिल तहका ३२ जना, स्नातकोत्तर तहका ४५६ जना, स्नातक तहका १ हजार ८१५ जना सहित जम्मा २ हजार ३१४ जना विद्यार्थी दीक्षित भए । तीमध्ये आर्ट्सका ७० जना, एजुकेसनका ७१ जना, इन्जिनियरिंगका ३६४ जना, म्यानेजमेन्टका ९७ जना, मेडिकल साइन्सेजका १५६३ जना र साइन्सका १४९ जना छन् ।

दीक्षित हुने विद्यार्थीमध्ये पुरुषको सङ्ख्या १ हजार १८६ जना र महिलाको सङ्ख्या १ हजार १२८ रहेको छ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू १० प्रतिशत छन् । तीमध्ये अमेरिका, मेक्सिको, डेनमार्क, चीन, भुटान,इजरायल, जर्मनी, भारत, माल्दिभ्स, श्रीलङ्का, कजाखस्तान, सिङ्गापुर, अर्जेन्टिना, भियतनाम, ब्राजिल, फिनल्याण्ड, स्वीडेन, प्यालेस्टाइन र सुडान गरी १९ देशका २४२ जना विदेशी विद्यार्थी छन् ।

Thuprai - Books and E-books