CMAT

‘शैक्षिक गुणस्तर सुधार्न प्रविधिमैत्री शैक्षिक सामग्री आवश्यक’

लहान नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रविधिमैत्री शैक्षिक सामग्री वितरणमा जोड दिएको छ ।

यसैगरि जनशक्ति व्यवस्थापन र अपुग शिक्षक दरबन्दी कायम गर्ने तथा विद्यायलयको भौतिक संरचना निर्माण र स्तरोन्नत्तिमा ध्यान दिन आग्रह गरिएको छ ।

नगरपालिकाले विद्यालयको शिक्षण सिकाइलाई व्यवहारिक र प्रविधिमैत्री बनाउनका लागि एक विद्यालय एक कम्प्युटर प्रयोगशाला, एक कक्षा एक शिक्षक र प्रति कक्षा पङ्खाको अवधारणा लागू गर्न आर्थिक वर्ष २०७९÷८० मा रु ६ करोड र चालू आर्थिक वर्ष २०८०÷८१ मा रु आठ करोड विनियोजन गरेको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीले जानकारी दिए ।

नगरप्रमुख चौधरीका अनुसार यस वर्ष तीन सय ३० बेन्च र ३६ कम्प्युटर तथा प्रिन्टर वितरण गरिएको छ । विद्यालयको शैक्षिक सुधारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । “प्रविधिमैत्री बनाउन र साधनस्रोत कम भएका विद्यालयलाई आवश्यकताका आधारमा नगरले सहयोग गर्दैआएको छ”, उनले भने ।

एक विद्यालय एक शिक्षक कार्यक्रमअन्तर्गत १२५ स्वयम सेवक शिक्षक भर्ना गरिएको छ । नगरका ५९ सामुदायिक विद्यायलको शैक्षिक गुणस्तर सुधार गर्न प्रयत्नशील रहेको नगरप्रमुख चौधरीले बताए ।

सहिद रमेश महतो आधारभूत विद्यालयका प्रधानाध्यापक उपेन्द्र महतोले नगरपालकाको नियमित अनुगमनबाट शैक्षिक सुधार गर्न हौसला मिलेको बताए ।

Thuprai - Books and E-books