त्रिविको सम्पत्तिको हिनामिना र जग्गा अतिक्रमण भएको थाहा भए सूचित गर्न आग्रह

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्ने सबैलाई यस्तो आग्रह गरेको हो ।

समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई कार्यारम्भ गरेसंगै यस्तो अपिल गरेको छ ।

मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्राडा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहेका छन् ।समितिलाई तीन महिनाको अवधि दिइएको छ ।