CMAT

विश्वविद्यालयको जग्गा गौचरण, भवन निर्माणको रकम फ्रिज

नेपाल खुला विश्वविद्यालयलाई सरकारले प्रदान गरेको  रू.१० करोड फ्रिज भएर गएको छ ।

मन्त्रिपरिषद्को  २०८० असार २६ गतेको बैठकले नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय भक्तपुरको सानोठिमीमा राख्ने निर्णय गरेर भवन निर्माणका लागि प्रदान गरेको बजेट भवन निर्माण हुन नसकेपछि फ्रिज भएर गएको हो ।

दुई वर्ष भित्र हाई टेकको बिल्डिङ बनाएर डिस्ट्यान्स ओपन लर्निङ कस्तो हुनुपर्छ भनेर स्थापित गर्नेर्छौं भन्ने उद्योष गरेर तत्कालीन पाधिकारीले प्रतिवद्धता गरेपछि प्रदान गरेको बजेट खर्च हुन नसकेपछि फ्रिज भएको छ ।

विश्वविद्यालय मासिक रु.४ लाख ९५ हजार भाडा तिरेर आफ्नो प्रशासनिक तथा शैक्षिक क्रियाकलाप सञ्चालन गरिएको छ । दुईवटा घर भाडामा लिई विश्वविद्यालय बार्षिक  घरभाडामा रू.५९ लाख ३७ हजार खर्च गरिरहेको छ। तोकिएको स्थानमा भवन निर्माण गरी विश्वविद्यालयको कार्यसञ्चालन गर्न नसक्दा विश्वविद्यालयले विद्यार्थीलाई व्ययभार बढाएको छ  ।

नेपाल खुला विश्वविद्यालय ऐन, २०७३ को दफा ३ (२) मा खुला शिक्षा प्रणालीद्वारा विभिन्न विषयमा उच्चस्तरीय अध्ययन, अध्यापन तथा अनुसन्धान गर्ने गराउने कामसमेतका लागि स्थापना गरिएको नेपाल खुला विश्वविद्यालयको केन्द्रीय कार्यालय नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको नेपालको कुनै स्थानमा रहने व्यवस्था छ । सोही व्यवस्थाका आधारमा सरकारले सानोठिमीमा भवन निर्माण गर्ने निर्णय गरेको थियो ।

भक्तपुरको सानोठिमीमा विश्वविद्यालयको करिब  ९ रोपनी जग्गा अहिले स्थानीयको गोचरण र ठेला पसल राखिएको छ । पदाधिकारीको आन्तरिक खिचातानीका कारण विश्वविद्यालयले गति लिन नसक्दा विश्वविद्यालयको प्रशासनिक भवन निर्माण हुन सकेको छैन ।

अर्थको स्वीकृति नलिइ विदेशी रकम

गत वर्ष विश्वविद्यालयले फिनल्याण्ड सरकारबाट रू. २ करोड ८७ लाख ३० हजार प्राप्त गरेकोमा रू. १ करोड ४३ लाख २१ हजार खर्च गरेको छ । सो रकम प्राप्त गर्नु अघि अर्थ मन्त्रालयको स्वीकृति समेत नलिएको महालेखापरीक्षकको ६१ औं बार्षिक प्रतिवेदनमा उल्लेख छ ।

विश्वविद्यालयले यो वर्ष नेपाल सरकारबाट प्राप्त रू.१० करोड २८ लाख ६० हजारसमेत कुल आय रू. ७४ करोड ३५ लाख १८ हजारमध्ये रू. ८ करोड ३८ लाख ९९ हजार खर्च गरेको छ ।

Thuprai - Books and E-books