​​​​​​​तीन दशकको शिक्षण यात्राः प्रविधिमैत्री शिक्षाको एक समर्पित अध्याय

विज्ञान तथा प्रविधि शिक्षकको रूपमा अमरज्योति माध्यमिक विद्यालय, वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ सुर्खेतमा २०५६ भदौ १ गतेदेखि अनवरत रूपमा अध्यापन गराउदै आएको मेरो यो करिब तीन दशक लामो शिक्षण, मेरो लागि केवल पेशा नभएर एउटा यात्रा हो, विशेषगरी सुर्खेत जिल्लामा कम्प्युटर शिक्षाको जग बसाल्ने र सूचना प्रविधिको क्षेत्रमा निरन्तर अगाडि बढ्ने यात्रा । यो यात्राको सुरुवात सरल थियो तर प्रविधिसंगको गहिरो सामिप्यताले यसलाई असाधारण बनाएको छ ।मेरो यो करिब तीन दशक लामो शिक्षण, मेरो लागि केवल पेशा नभएर एउटा यात्रा हो, विशेषगरी सुर्खेत जिल्लामा कम्प्युटर शिक्षाको जग बसाल्ने र सूचना प्रविधिको क्षेत्रमा निरन्तर अगाडि बढ्ने यात्रा । यो यात्राको सुरुवात सरल थियो तर प्रविधिसंगको गहिरो सामिप्यताले यसलाई असाधारण बनाएको छ ।

आजको दिनमा पनि म आफूलाई सुर्खेत जिल्लाकै पहिलो कम्प्युटर विज्ञान विषयको शिक्षक भएको दाबी गर्दछु, र यस दाबीका पछाडि मेरा अनुभव र प्रयासहरूले बलियो आधार दिएका छन् । मैले २०५८ सालमा कक्षा ९ मा ऐच्छिक द्वितीय विषयको रूपमा कम्प्युटरको अध्यापन सुरु गरें । त्यसबेला म स्वयम् उत्सुकता र चासोको भुमरीमा थिए । त्यो समयमा कम्प्युटर शिक्षा नेपालको लागि बिल्कुलै नयाँ अवधारणा थियो, र यसलाई विद्यालय स्तरमा पुर्‍याउनु आफैंमा एउटा चुनौती थियो । त्यसको लगत्तै, २०५९ सालमा मैले कक्षा १० मा पनि कम्प्युटर विषय पढाउन थालें । यसले मलाई एउटा विशेष जिम्मेवारीको बोध दिलायो- प्रविधिको झिल्को ग्रासरुटसम्म पुर्याउने

नेपाल सरकारको सूचना प्रविधि नीति २०५७ ले पाँच वर्षभित्र नेपाललाई सूचना प्रविधिको विश्व मानचित्रमा पुर्‍याउने महत्त्वाकांक्षी लक्ष्य राखेको थियो । यस नीतिको कार्यान्वयनका लागि तत्कालिन पाँच विकास क्षेत्रमा रहेका माध्यमिक शिक्षा विकास इकाई (Secondary School Development Unit - SEDU) अन्तर्गतका सेडु स्कुलहरूमा कम्प्युटर विज्ञान विषय लागू गर्ने निर्णय भयो । यसका लागि माध्यमिक शिक्षकहरूलाई विशेष तालिम दिइएको थियो, र म भाग्यशाली थिएँ कि मलाई पनि त्यो अवसर मिल्यो । त्यो तालिमले मलाई कम्प्युटर शिक्षाको सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गर्‍यो, जसले मलाई यस क्षेत्रमा अगाडि बढ्न ठूलो मद्दत गर्‍यो । यो मेरो लागि टर्निङ पोइन्ट बन्यो । यसले मलाई मात्र होइन, समग्र विद्यालय र शिक्षण सिकाइ प्रणालीलाई नै रुपान्तर गर्ने बाटो देखायो ।

निरन्तर सिकाइ र व्यावसायिक विकास

समयसँगै आफूलाई अपडेट र अपग्रेड गर्दै जानु पर्छ भन्ने कुरामा म सधैं विश्वास गर्छु । प्रविधिको संसार द्रुत गतिमा परिवर्तन भइरहेको हुन्छ, र शिक्षकको रूपमा मैले विद्यार्थीहरूलाई नवीनतम ज्ञान दिनु मेरो कर्तव्य हो । यही कारणले, मैले नेपाल खुला विश्वविद्यालय, मानभवन ललितपुरबाट विज्ञान प्रविधि विषय अन्तर्गत मास्टर्स इन ई-गभर्नेन्स डिग्री को अध्ययन पूरा गरें । यो अध्ययनले मलाई सूचना प्रविधिको गहिरो ज्ञान प्रदान गर्‍यो, जसलाई मैले आफ्नो अध्यापनमा प्रयोग गर्दै आएको छु । हाल म कक्षा ११ र १२ मा समेत कम्प्युटर विज्ञान विषय अध्यापन गरिरहेको छु । नयाँ पुस्तालाई डिजिटल साक्षर बनाउन र उनीहरूलाई सूचना प्रविधिको क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्न पाउनु मेरा लागि गौरवको कुरा हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिता र सम्मान

मेरो व्यावसायिक यात्रामा मैले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा सहभागी हुने अवसर पाएको छु । ब्रिटिश काउन्सिलको कनेक्टिङ क्लासरूम कोर स्किल र ISA (International School Award) प्रोग्राममा सहभागी भएर मैले डिजिटल सीप विकासको महत्त्वपूर्ण अवसर प्राप्त गरें । ब्रिटिश काउन्सिलको राष्ट्रव्यापी लेसनप्लान प्रतियोगितामा उत्कृष्ट पाँचमा छनौट भई मेरो भिडियो छायाङ्कन गरिएको छ, जुन हाल कनेक्टिङ क्लासरूम कोर स्किलको तालिम सामग्रीको रूपमा प्रयोग भइरहेको छ । यसका साथै, मैले सोही प्रतियोगितामा ल्यापटप पुरस्कार समेत जित्न सफल भएँ । यी सबै उपलब्धिहरु मेरो जीवनका प्रेरणादायी मोडहरु हुन् ।

ISA (International School Award) कार्यक्रम संयोजकको जिम्मेवारी बहन गर्दै मैले विद्यालयलाई ISA Foundation Award जिताउन सफल भएँ, यो मेरो टिमवर्क र नेतृत्व क्षमताको प्रतिबिम्ब हो भन्ने ठान्दछु  जसले विद्यालयको अन्तर्राष्ट्रियकरणमा महत्त्वपूर्ण योगदान पुर्‍यायो । विद्यालयमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्न मैले कक्षा ६ र ७ का लागि स्मार्टक्लास कार्ययोजना बनाई त्यस कार्यक्रमको संयोजकको जिम्मेवारी बहन गरें । यसले प्रविधिको प्रयोगलाई व्यवहारमा उतार्न सफल भएको ठान्दछु । हाल म विद्यालयको सूचना प्रविधि संयोजकको जिम्मेवारी वहन गरिरहेको छु, विद्यालयलाई प्रविधिमैत्री बनाउन क्रियाशिल छु ।

सामाजिक भूमिका र योगदान

शैक्षिक संस्थाभन्दा बाहिर पनि मैले सूचना प्रविधिको विकास र विस्तारमा योगदान पुर्‍याउने अवसर पाएको छु । म वीरेन्द्रनगर नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखा र मानव संसाधन विकास केन्द्र कर्णाली प्रदेशको आईसीटी प्रशिक्षकको रूपमा काम गरिसकेको छु । साथै, प्रविधि मैत्री शिक्षक समाजको कर्णाली प्रदेशको संयोजकको जिम्मेवारी वहन गरिसकेको छु । यी मेरा लागि जिम्मेवारी र विश्वासको प्रतिक थिए । 

कोभिड-१९ महामारीले शिक्षण पद्धतिलाई पूर्णरुपमा रुपान्तरित गर्यो । उक्त चुनौतीपूर्ण समयमा, मैले सयौ शिक्षकहरूलाई आईसीटी र अनलाइनमा आधारित पेसागत क्षमता विकास तालिमहरू संचालन तथा व्यवस्थापन गरेंको छु । विद्यार्थीहरूको सिकाइलाई निरन्तरता दिन जुम, गुगल मिट, गुगल क्लासरुम जस्ता प्लाटफर्म र एपहरूको प्रयोग गरी अनलाइन कक्षाहरू सफलतापूर्वक लिएँ । यसका साथै, वीरेन्द्रनगर नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको युट्युब च्यानलको सञ्चालन र सम्पादन जिम्मेवारी वहन गर्दै मैले नगरपालिकाको शिक्षा सम्बन्धी गतिविधिहरुको निरन्तरता कायम राखेर स्थानीय स्तरमा पनि सूचना प्रविधि र शिक्षाको प्रवर्द्धनमा योगदान पुर्‍याउने अवसर पाएको छु ।

मेरो निरन्तरको प्रयास र योगदानको कदरस्वरूप, विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा पटक पटक सम्मानित र पुरुस्कृत भए । साथै, मैले एघारौँ राष्ट्रिय प्रजापति प्रसाई (पीपी) उत्कृष्ट शिक्षक पुरस्कार (कर्णाली प्रदेश) २०८१ प्राप्त गरें, जसले मलाई थप ऊर्जा प्रदान गरेको छ, मेरो लागि अझ बढी जिम्मेवारी र प्रेरणाको स्रोत बनेको छ । यी उपलब्धिहरु मेरा लागि केवल सम्मान मात्र होइनन्, बरु उत्तरदायित्व हुन् । मेरो अनुभव भन्छ-  “शिक्षा मात्र होइन, प्रविधिसंगैको शिक्षा नै समृद्ध नेपालको आधार हो ।“

मेरो यो यात्रामा अनेकौं चुनौतीहरू आए, तर कम्प्युटर शिक्षाको महत्त्व र यसले समाजमा ल्याउन सक्ने परिवर्तनप्रतिको मेरो अटुट विश्वासले मलाई सधैं अगाडि बढ्न उत्प्रेरित गर्‍यो । सुर्खेत जिल्लामा कम्प्युटर शिक्षाको बीउ रोप्न पाउनु र त्यसलाई हुर्काउन पाउनु मेरो शैक्षिक जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । मलाई लाग्छ, मैले एउटा नयाँ अध्यायको सुरुवात गरें, जसले आज हजारौं विद्यार्थीहरूलाई सूचना प्रविधिको संसारमा अवसर दिइरहेको छ र भविष्यका लागि तयार गरिरहेको छ । यसको सकारात्मक प्रभाव आज आइसिटीको क्षेत्रमा विभिन्न पद, प्रतिष्ठा हासिल गरिरहेका मेरा विद्यार्थीहरुबाट स्पष्ट देख्न सकिन्छ ।

यात्रा अझै बाँकी छ, तर यो यात्रामा प्रविधि र शिक्षासँगको समर्पण सदैव साथ रहनेछ ।