विभाजित भयो माओवादी समर्थित अनेरास्ववियु क्रान्तिकारी

नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) विभाजित भएको छ । सङ्गठनको पवन कार्की समूहले आगामी भदौमा राष्ट्रिय भेलाको आयोजना गर्ने घोषणा गरेको छ । उक्त समूहले कार्कीको संयोजकत्वमा १९९ जना केन्द्रीय कमिटी पनि घोषणा गरेको छ । 

आज पत्रकार सम्मेलन गर्दै आगामी भदौ ३० र ३१ गते काठमाडौँमा राष्ट्रिय भेला गर्ने जानकारी दिएको छ । संयोजक पवन कार्कीले अनेरास्ववियु क्रान्तिकारीलाई सशक्त संगठन बनाउन, विद्यार्थी आन्दोलनलाई झनै क्रियाशील बनाउन, विद्यार्थीको हकअधिकार स्थापित गर्न राष्ट्रिय भेलाको आयोजना गर्न लागिएको स्पष्ट पारे । 

पञ्चा सिंह नेतृत्वले विधानअनुरुपको कमिटी गठन गर्न नसकेको उनले आरोप लगाए । अध्यक्ष सिंहले संगठनमा कुनै छलफल र सल्लाह नै नगरी फेसबुकमार्फत कार्यसमिति सार्वजनिक गरेको कार्कीको आरोप छ । 

उनले राष्ट्रिय सम्मेलनमा आफूहरुले विधि र विधानको कुरा उठाउँदा उल्टै आफूहरुमाथि आक्रामण भएको गुनासो पोखे । 

उनले संगठनको इतिहासमा पहिलोपटक प्रहरी प्रशासनको उपस्थितिमा बैठक सञ्चालन गरिएको पनि आरोप लगाए । उनले संगठनलाई पुनर्जीवन प्रदान गर्न विद्रोह गर्नु परेको उल्लेख गरे । 

यही असार १८ गते काठमाडौँमा सम्पन्न भएको घोषणासभाले राजनीतिक, सांगठनिक र समसामयिक प्रस्ताव पारित गरेको छ ।  घोषणासभाले २२औं राष्ट्रिय सम्मेलनबाट पारित विधान र प्रतिवेदनलाई अक्षरशः पालन गर्ने प्रण गर्दै सबै अवैधानिक समिति खारेज गर्दै विधानसम्मत समिति निर्माण गर्ने प्रतिबद्धता पनि गरेको जनाइएको छ । 

त्यस्तै, घोषणासभाले नेपालको राष्ट्रिय अस्मिताको रक्षा, जनजिविकाको समस्या समाधान, शैक्षिक बेथितिको अन्त्यका निम्ति सशक्त विद्यार्थी आन्दोलन गर्ने, त्रिभुवन विश्वविद्यालय लगायतका सबै विश्वविद्यालयमा अविलम्ब स्ववियु निर्वाचनको मिति घोषणा गर्नुपर्ने, दुई महिने संगठन सुदृढीकरण अभियान पनि संचालन गर्ने निर्णय गरेको छ । 

पञ्चा सिंहलाई पदमुक्त गरी विशेष राष्ट्रिय महाधिवेशन आह्वान गर्न पनि उक्त समूहको माग छ । असन्तुष्ट पक्षले अध्यक्ष पञ्चा सिंहलाई तत्काल पदमुक्त गर्न पार्टी नेतृत्वसमक्ष माग गरेको छ । उक्त समूहले अध्यक्ष सिंहलाई तत्काल पदमुक्त गर्दै विद्यमान अवैधानिक समिति खारेज गरी अविलम्ब विशेष राष्ट्रिय महाधिवेशन आयोजना गर्न सम्बन्धित पक्षसँग माग गरेको हो ।