१०९ ठुला सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि सरकारले छुट्याइयो ६.५४ अर्ब रुपैयाँ

१०९ ठुला सामुदायिक विद्यालयको पूर्वाधार सुधारका लागि सरकारले छुट्याइयो ६.५४ अर्ब रुपैयाँ

देशभरका १०९ ठुला सामुदायिक विद्यालयको भौतिक संरचना विस्तार र सुदृढ गर्न चालु आर्थिक वर्षमा ६ अर्ब ५४ करोड रुपैयाँ छुट्याइएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन्।

सामुदायिक विद्यालयप्रति बढ्दै गएको रुचि र जनविश्वासलाई अझ बलियो बनाउँदै शिक्षा क्षेत्रमा रूपान्तरण ल्याउने दिशामा यो ऐतिहासिक निर्णय भएको मन्त्री पोखरेलको भनाइ छ।

मन्त्रीका अनुसार, दुई हजारभन्दा बढी विद्यार्थी भएका र राम्रो शैक्षिक नतिजा दिइरहेका १०९ सामुदायिक विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर यो योजना अघि बढाइएको हो।

योजनाको पहिलो चरणमा ८९ विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भएको छ। यही रकमबाट प्रत्येक विद्यालयमा करिब ६ करोड रुपैयाँ लागतमा अत्याधुनिक १२ कोठे तीनतले भवन बन्दै गरेको उनले बताए।

यी भवनमा आधुनिक कक्षाकोठासँगै व्यवस्थित प्रयोगशाला र समृद्ध पुस्तकालय पनि हुनेछन्। विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र प्रभावकारी सिकाइ वातावरण बन्ने उनको विश्वास छ।

सामुदायिक विद्यालयमा विद्यार्थी र अभिभावकको आकर्षण बढ्नु राम्रो पक्ष भए पनि केही विद्यालयमा अझै विद्यार्थी सङ्ख्या कम भएको समस्यामा सरकारको ध्यान गएको उनले स्पष्ट पारे।

विद्यालयहरूबिचको असमानता घटाउनकै लागि पूर्वाधार सुधारको सुरुवात ठुला विद्यालयबाट गरिएको उनले बताए।

भविष्यमा देशभरका सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारलाई एकसमान रूपमा सुदृढ बनाउँदै विद्यालयहरूबिचको असमानता पूर्ण रूपमा अन्त्य गर्ने प्रतिबद्धता पनि मन्त्री पोखरेलले दोहोर्याएका छन्।