A Levels MA

शिक्षक दरबन्दी मिलान अन्तिम चरणमा

शिक्षा मन्त्रालयले आउँदो शैक्षिक सत्र सुरु हुनु अगावै शिक्षक दरबन्दी पुनर्वितरण गर्ने भएको छ । मन्त्री परिषदबाट शिक्षक दरबन्दी पुनर्वितरण कार्यविधि पास भएसंग मन्त्रालय दरबन्दी मिलानको अन्तिम चरणमा पुगोको हो ।

मन्त्रालय बढी भएका पालिकाबाट कम भएका पालिकामा, कम भएका जिल्लाबाट अर्को जिल्लामा र बढी भएका प्रदेशबाट कम भएका प्रदेशमा दरबन्दी मिलान गर्ने अन्तिम तयारीमा पुगेको शिक्षा विकास तथा मानवस्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेलले बताए ।

मन्त्रालयले शिक्षक बढी भएका १४ जिल्लाका ३ हजार ३५९ शिक्षकलाई अन्य जिल्लामा मिलान गर्ने तयारी गरिरहेको छ भने १५ जिल्लाका १ हजार ४९३ शिक्षकलाई एक पालिकाबाट अर्को पालिकामा मिलान गर्ने भएको छ । मन्त्रालयले ४ हजार ८५२ शिक्षक दरबन्दी मिलान गर्ने केन्द्रले जानकारी दियो ।

साविकको उच्च माध्यमिकको २ हजार दरबन्दी, माध्यमिकको १२ हजार ७२५, निम्न माध्यमिकको १६ हजार २४४, प्राथमिक तर्फ ८० हजार १ सय ७६ र महिला परियोजनाको १ हजार २६५ शिक्षक दरवन्दी तथा राहत अनुदान कोटा मध्येबाट समन्यायिक ढंगबाट दरबन्दी मिलान गर्ने भएको हो ।

यसैगरी राहत अनुदान कोटा तर्फ उच्च माध्यमिकको ४ हजार, माध्यमिकको ६ हजार ८९८, निम्न माध्यमिकको ९ हजार ६०९ र प्राथमिकको  २१ हजार ८७१ शिक्षकको दरबन्दी मिलानको अन्तिम चरण पुगेको हो ।

मन्त्रिपरिषद्को ०७५ असार ४ गतेको निर्णय अनुसार शिक्षक दरबन्दी मिलान सम्वन्धी सुझाव पेश गर्न नेपाल सरकारका पूर्व सचिव महाश्रम शर्माको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलले तयार गरेको शैक्षिक तथ्याङ्कका आधारमा शिक्षक दरबन्दी पुनर्मिलन गर्न लागिएको हो ।

दरबन्दी मिलानपछि बाँकी रहेका स्थानमा खुला विज्ञापन गरी सबै विद्यालयमा शिक्षक विद्यार्थी अनुपात मिलाइने केन्द्रका महानिर्देशक पौडेलले बताए । ‘शैक्षिक सत्रको सुरुमा सबै विद्यालयमा विषयगत शिक्षक पठाउँछौं अपुग भएका ठाउँमा पालिकागत दरबन्दी माग गरी शिक्षक व्यवस्थापन गर्छौं ।’ उनले भने, ‘एक वर्षभित्र विद्यार्थी नभएर घाम ताप्ने शिक्षक र शिक्षक नभएर घर फर्किने विद्यार्थी भेटिने छैनन् ।’

Thuprai - Books and E-books