चीनका चार ठुला क्षेत्रका विद्यार्थीहरूले शैक्षिक क्षमतामा पश्चिमा देशका आफ्ना समकक्षीहरूलाई पछाडि पारेका छन् ।
पेरिसमा आधारित संस्था ओसीईडीले गरेको सर्वेक्षणमा यस्तो नतिजा बाहिर आएको हो । उक्त संस्थाले प्रत्येक तीन वर्षमा गर्ने पिसा सर्वेक्षणमा ३७ सदस्य राष्ट्र तथा ४२ साझेदार देशका ६ लाख विद्यार्थीमा सर्वेक्षण गरेको थियो । अध्ययनमा १५ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई दुई घण्टा गरेको परीक्षणको नतिजाअनुसार चिनियाँ चार क्षेत्रहरू बेइजिङ, साङ्घाई, जिंग्सु र झिङझ्याङ तथा सिंगापुरका विद्यार्थीहरू गणित र विज्ञान विषयमा पश्चिमा समकक्षीभन्दा अगाडि भएको पाइयो ।
‘धेरै एसियाली राष्ट्रमा शिक्षा पहिलो प्राथमिकतामा छ ।’ ओसीईडीका शैक्षिक विज्ञ इरिक चार्वेनियर भन्छन्, ‘शिक्षकलाई उच्च स्तरको तालिम र विद्यालयमा लगानी पनि बढाइएको छ ।’
अध्ययन अनुसार सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्ने ओसीईडीका सदस्य राष्ट्रहरूमा बाल्टिक राष्ट्र इस्टोनिया, क्यानडा, फिनल्याड र आयरल्याड लगायतका राष्ट्र छन् । ठुला युरोपियन राष्ट्रहरूमा बेलायत १४औं, जर्मनी २०औं, फ्रान्स २३औं रहेका छन् भने अमेरिका १३औं स्थानमा रहेको छ ।
ओईसीडीका महासचिव एन्जिल गुरिया भने ,‘चार चिनियाँ प्रान्तका विद्यार्थीहरूले अन्य ७८ देशका विद्यार्थीहरूलाई डुलो अन्तरले पछि पारेका छन् ।’‘तुलनात्मक दृष्टिले हेर्दा सामाजिक तथा आर्थिक रुपमा सवल अध्ययन क्षेत्रका विद्यार्थीलाई समेत पछि पारेका छन’ उनले पेरिस पत्रकार सम्मेलनमा भने । यसका साथै उनले पूर्वी चीनका यी चार प्रान्तले मात्र समग्र चीनको प्रतिनिधित्व गर्न नसक्ने बताए ।
(एजेन्सीको सहयोगमा)