बेलायतस्थित क्याम्ब्रिज विश्वविद्यालयले ए लेभलको नतिजा प्रकाशन गर्दा अनियमितता गरेको भन्दै नेपालका विद्यार्थीहरु आन्दोलित भएका छन् ।
अंक प्रणाली अर्थात ग्रेडिङ वैज्ञानिक र मौलिक मानिँदै आएको क्याम्ब्रिज विश्वविद्यालयको मूल्यांकन प्रति नै विद्यार्थीले अविश्वास गर्दै आन्दोलित भएका हुन् ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को संक्रमणका कारण उक्त विश्वविद्यालयले परीक्षा सञ्चालन गर्न नसकेपछि विद्यार्थीको मूल्यांकन गरेर अंक पठाउन सम्बन्धित क्याम्पस र शिक्षकलाई अनुमति दिएको थियो। शिक्षकले गरेको मूल्यांकनमा विश्वविद्यालयले नतिजा प्रकाशन गर्दा फरक पारेको, शिक्षकको मूल्यांक्नमा परक पारेको हुनाले बाध्य भएर आन्दोलित भएको एपेक्सलाइफ स्कुल प्रालिमा ए लेवल अध्ययनरत एक विद्यार्थीले बताए ।
’नतिजा सच्याउन माग गर्दै हामी ब्रिटीस काउन्सिल अगाडि धर्ना दिइ रहेका छौं ।’ उनले भने, ‘चिठ्ठा सार्वजनिक गरे जसरी हाम्रो नतिजा सार्वजनिक गरिएको हुँदा धर्ना दिन बाध्य भएका हौं ।’
ए लेवलको परीक्षामा ९० भन्दा माथि अंक पाउनेको प्रमाणपत्रमा ए प्लसपाउछ । त्यस्तै ८० देखि ८९ सम्म पाउने विद्यार्थी ए ग्रेडको हुन्छ भनें ७० देखि ७९ सम्म पाउनेको बी ग्रेड प्रादान गरिँदै आएको छ । त्यस्तै ६० देखि ६९ सम्म अंक प्रतिशत पाउनेको ग्रेड सी, ५० देखि ५९ पाउनेको ग्रेड डी र ४० देखि ४९ पाउनेको ग्रेड इ हुन्छ । हाम्रो कक्षाको आन्तरिक मूल्यांकमा सधै ए प्लस आउने विद्यार्थीको डी ग्रेड दिएको हुनाले आन्दोलित हुनु परेको उनले बताए ।
विद्यार्थीले काउन्सिललाई पत्राचार गरेर नतिजा सच्याउन लिखित अनुरोध यसअघि नै गरिसकेका छन् । नेपालमा ए लेभलको परीक्षा सञ्चालन, नतिजा प्रकाशन लगायत अन्य व्यवस्थापन काउन्सिलले गर्दै आएको छ ।
नतिजाबारे विद्यार्थीले लिखित रुपमै असन्तुष्टि जनाएपछि काउन्सिलले केही दिन विद्यार्थीलाई प्रतिक्षा गर्न आग्रह गरेको छ । ए लेवल कार्यक्रम चलाउँदै आएका कलेजहरुले नतिजा चित्तबुझ्दो नआएको हुनाले वास्तविकताको अध्ययन भइरहेको जनाएका छन् ।
ए लेभल पढेका विद्यार्थीहरुले बेलायत, अमेरिका, क्यानाडा र युरोपका सबै मुलुकका विश्व विद्यालयको ४ वर्षे कोर्षमा ३ वर्ष मात्र पढे पुग्ने हुँदा केही वर्ष यता नेपाली विद्यार्थीको ए लेवल प्रति आकर्षण बढिरहेको थियो । तर यो नतिजाले प्रश्न चिन्ह उब्जाएको आन्दोलनरत अर्का विद्यार्थी आयुस हुमागाँइले बताए ।