Bachelors Portal

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन् ।  

विद्यालयमा पढाइ सँगसँगै तरकारी खेतीसम्बन्धी प्रयोगात्मक अभ्यास हुन थालेपछि प्रसन्न तरकारी खेतीसम्बन्धी काम गर्न अभ्यस्त हुन  थालेका हुन् । “सधैँ किताब मात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो, अहिले फरक सीप सिक्न पाउँदा सीप र पढाइ दुवै प्रभावकारी भइरहेको छ”, नवीनले भने  ।

विद्यालयमा गत वर्षदेखि सञ्चालन गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत तरकारी खेती सुरु भएपछि नवीन जस्तै विद्यालयको कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थी सहभागी भई सीप सिकिरहेका छन् ।

कक्षा ५ मा अध्ययनरत समीक्षा पाठकले विद्यालयको करेसाबारीमा काम गर्न पाउँदा खुसी लागेको बताए । “यसअघि विद्यालयमा पढाइ मात्र हुने गरेको थियो, अहिले तरकारी खेती पनि सुरु भएको छ । पढाइसँगै सीप सिक्न पाउँदा हामी उत्साहित छौँ, यो प्रभावकारी कार्यक्रम हो”, उनले भने  ।

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सुरु गरिएको पढ्दै कमाउँदै कार्यक्रम विद्यार्थीबीच प्रभावकारी बन्दै गएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताए । “कावासोती नगरपालिकाले करेसाबारी कार्यक्रमअन्तर्गत रु २५ हजार बजेट विनियोजन गरेपछि विद्यालयको चार कट्ठा जग्गामा उक्त कार्यक्रम सुरु गरेका हौँ”, उनले भने , “विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीको सिकाइमा थप प्रभाव देखिएको पाएका छौँ ।”

विद्यार्थीले विद्यालय परिसरमा रहेको करेसाबारीमा मौसम अनुसारका तरकारी लगाउने गरेका छन् । उत्पादित तरकारी विद्यालय हाताभित्रबाटै बिक्री गर्ने वातावरण्त मिलाइएको प्रअ पौडेलले जानकारी दिए । “विद्यार्थी अहिले पढेका कुरा अभ्यास गर्ने र व्यावसायिक रुपमा खेतीसम्बन्धी प्राविधिक ज्ञान आर्जन गरिरहेका छन्”, उनले भने  ।

विद्यार्थीलाई सुरुमा यस कार्यक्रममा सहभागी गराउन मुस्किल भए पनि विस्तारै चासो दिन थालेका विद्यालयकी पढ्दै कमाउँदै कार्यक्रम संयोजक अनिता थनेतले बताए । “विद्यार्थीको अथाह मेहनतले आज राम्रो नतिजा प्राप्त भएको छ”, उनले भने , “बालबालिकालाई सानै उमेरदेखि मेहनत र सीपको महत्त्व देखाउँदै अर्थ उपार्जनका क्षेत्रमा जागरुक बनाउन यस्तो कार्यक्रम फलदायी हुने देखिएको छ ।”

विद्यार्थीले कक्षामा गर्नु पर्ने परियोजना कार्यसँगै तरकारी खेतीलाई जोडिएको विद्यालयका इन्चार्ज हिरा महतोले बताए । “यो सिजनमा तिल र भिन्डी उत्पादन गरिएको छ, विद्यार्थीले रु तीन हजार पाँच सयको तरकारी बिक्री गरिसकेका छन् भने तिल बिक्री गर्न बाँकी छ”, उनले भने  ।

नगरपालिकाले गत आर्थिक वर्षदेखि २० वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिए । उनका अनुसार विद्यालयको करेसाबारीमा विद्यार्थीद्वारा उत्पादित तरकारीलाई विद्यालयको दिवा खाजामा प्रयोग गर्ने गरिएको छ ।

  “दिवा खाजालाई अर्गानिक तरिकाले अगाडि बढाउने, विद्यालयको परिसरलाई हराभरा बनाउने र विद्यालयमा खेर गएको स्रोतसाधनलाई प्रयोग गर्ने मुख्य उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयमा लागू गरिएको हो”, पाण्डेले भने  । कार्यक्रम प्रभावकारी बन्दै जानुका साथै विद्यार्थीमा प्रविधिक ज्ञान वृद्धि हुने भएकाले अन्य पालिकाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा उनले जोड दिए ।

Thuprai - Books and E-books