A Levels MA

प्रत्यक्ष चुनाबी कार्यक्रममा सहभागी शिक्षकसंग स्पष्टीकरण माग

सरकारी कर्मचारी र शिक्षक प्रचारप्रसारमा सम्लग्न भए कारबाही गर्ने भन्दै निर्वाचन आयोगले गत असोज २५ गते सार्वजनिक रुपमा विज्ञप्ति जारी गर्यो ।

आयोगले निर्वाचन आचारसंहिता, २०७९ को प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र शिक्षकहरूले राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि कारबाही  गरेको भन्दै केही शिक्षकलाई स्पष्टिकरण माग गरेको छ ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम आचारसंहिताको अनुगमन र कारबाहीको प्रबन्ध रहेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि जारी गरिएको आचारसंहिताको अनुगमनका लागि आयोगमा रहेको अनुगमन समितिको अनुगमनका क्रममा पालन गर्नुपर्ने आचरणको उलङ्घनका घटना भेटिएमा  शिक्षक कर्मचारीलाई स्पष्टीकरणको मौका दिइ दोषी देखिएमा सचेत, विभागीय कारबाही वा निलम्बन सम्मको कारबाहीका लागि सम्बन्धित निकायलाई आदेश दिनसक्ने उक्त दफामा  व्यवस्था छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ । उक्त दफाको (क) मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गत निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने उल्लेख छ ।

सोही दफाको (झ) मा सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारमा सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुने व्यवस्था गरिएको छ ।

आचारसंहिताको दफा १० मा विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचारणको स्पष्ट व्यवस्था गरेको छ । 

पदीय दायित्वसमेत ख्याल नगरी निर्वाचनसम्बन्धी दलका बैठक, भेलालगायत कार्यक्रममा सहभागी हुने केही शिक्षकलाई स्पष्टीकरण सोधेको आयोगले बुलेटिन मार्फत जानकारी गराएको छ । स्पष्टीकरण २४ घण्टाभित्र आयोगमा वा जिल्ला निर्वाचन कार्यालयमा प्राप्त हुने गरी पेस गर्न समेत निर्देशन  दिएको  छ।

पर्वतको बाल प्राथमिक विद्यालयका प्रधानाध्यापक छविलाल तिवारी, कुस्मा नगरपालिकास्थित नारायणी माध्यमिक विद्यालयका शिक्षक सुभन्तराज सुवेदी, महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालय, मुसिकोटका प्रधानाध्यापक अनन्तलाल भण्डारी र नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० को सरस्वती माध्यमिक विद्यालयका शिक्षक कृष्ण तिवारी लगायतलाई स्पष्टीकरण सोधेको   बुलेटिनमा उल्लेख गरेको छ ।

आयोगले शिक्षक कृष्ण तिवारीलाई राजनीतिक सम्लग्नताका विषयमा स्पष्टीकरण सोधेको छ । शिक्षक तिवारीलाई नेपाली काङ्ग्रेसको नवलपुर क्षेत्र नं. २ (२) मा प्रदेश सभा कार्यसमिति सभापति पदमा बहाल रहेको र हाल नेपाली काङ्ग्रेसको विभिन्न चुनावी सभा तथा कार्यक्रममा दलको नेतृत्व गरेको हुँदा स्पष्टीकरण सोधिएको  आयोगले  जारी गरेको बुलेटिनमा  उल्लेख छ ।

त्यसैगरी, प्रधानाध्यापक छविलाललाई निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दल तथा उम्मेदवारको पक्ष–विपक्षमा प्रचारप्रसार गरेको भन्दै जिल्ला निर्वाचन कार्यालयले २४ घण्टे स्पष्टीकरण मागेको हो ।

फलेवास नगरपालिका–४ मा रहेको विद्यालयका शिक्षक छविलाललाईले निर्वाचनको सन्दर्भमा निर्वाचन आचारसंहिता विपरीत ‘आफ्नो फेसबुक पेजमा राजनीतिक दल तथा उम्मेदवारको पक्ष विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट तथा शेयर गरेर भोट मागी चुनावी प्रचारप्रसार गरेको भन्दै स्पष्टीकरण सोधेको हो ।

त्यस्तै, आयोगले पर्वतको पञ्चकोशीका प्रधानाध्यापकलाई  तरुण दलका नाममा विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

त्यसैगरी, आयोगले  प्रधानाध्यापक भण्डारीलाई  एकीकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा रहेको तथा निर्वाचन घोषणा भएपश्चात चुनावी कार्यक्रम तथा बैठकमा सहभागी हुँदै आएका हुँदा आयोगले  स्पष्टीकरण सोधेको  जानकारी दियो ।

आयोगले पर्वतको कुस्मा नगरपालिकास्थित नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक सुभन्तराजलाई राजनीतिक दल र उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्दै स्पष्टीकरण सोधेको छ ।

Thuprai - Books and E-books