विद्यार्थी वित्तीय सहयोग कोष विकास समितिका कार्यकारी निर्देशक दिवाकर ढुङ्गेलले चैत १ गतेबाट लागू हुने गरी पदबाट राजीनामा दिएका छन् । उनको अझै चार महिना अवधि बाँकी थियो । घरायसी कारण देखाउँदै उनले आज समितिका अध्यक्षलाई राजीनामा पत्र बुझाएका हुन् ।
उनी २०७४ साल असार ८ गते चार वर्षे कार्यकालका लागि नियुक्त भएका थिए । विश्व बैँकको सहयोगमा उच्च शिक्षा सुधार परियोजनाअन्तर्गत कक्षा ९, १०, ११, १२ र स्नातक तहमा आर्थिकरुपमा विपन्न विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने संस्थाका रुपमा समितिले कार्य गर्दै आएको छ ।
मन्त्रिपरिषद्ले विकास समिति खारेज गर्ने निर्णय गरेअनुसार यो समिति पनि आगामी असारबाट खारेजीमा पर्दैछ । माध्यमिक तहका विज्ञानतर्फका विद्यार्थीलाई वार्षिक २४ हजार रुपियाँ र अन्यलाई १८ हजार रुपियाँ तथा स्नातक तहमा वार्षिक १८ हजार रुपियाँ छात्रवृत्ति वापत उपलब्ध गराउने गरिएको छ । समितिले विद्यार्थीको गरिबी पत्ता लगाउने संयन्त्रको विकास गरेको थियो र सोहीअनुरुप अन्य संस्थाहरुले पनि गरिबी पत्ता लगाइ छात्रवृत्ति वितरण गर्ने गरेका छन् ।