विद्यार्थी गुणीय चक्रको १८ औँ राष्ट्रिय सम्मेलन यही कात्तिक २४ देखि २६ गतेसम्म काठमाडौँमा आयोजना गरिने भएको छ ।
क्वेस्ट नेपालले आयोजना गर्ने गरेको यो सम्मेलन यसपटक चन्द्रागिरी नगरपालिकाको ब्राइट फ्युचर माविमा आयोजना हुनेछ ।
आयोजक संस्थाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार सम्मेलनमा ७४ विद्यालयका ५१२ विद्यार्थी सहभागी हुनेछन् । सम्मेलनमा कक्षा ४ देखि १० का विद्यार्थी सहभागी हुनेछन् । त्यस्तै एक सय पर्यवेक्षक हुनेछन् । श्रीलंकाबाट पनि पर्यवेक्षक आउने भएका छन् ।
क्वेस्ट नेपालका अध्यक्ष नारदकुमार रिजाल, उपाध्यक्ष मोहन कार्की, ब्राइट फ्युचर माविका प्रिन्सिपल दयाराम थापा, क्वेस्ट नेपालका डाइरेक्टर देवराज घिमिरे लगायतले सम्मेलनका बारेमा जानकारी दिएका थिए ।
नेपालमा सन् १९९९ बाट विद्यार्थी गुणीय चक्रको अवधारणा भित्र्याइएको हो । हाल विश्वका २५ भन्दा बढी देशमा यो लोकप्रिय रहेको छ ।
सम्मेलनमा विद्यार्थीले गुणीय चक्रको मामिला अध्ययन गरेको प्रतिवेदन प्रस्तुत गर्ने, प्यानल छलफल गर्ने, प्रतिस्पर्धात्मक खेल खेल्ने, कला र संग्रह चित्र, हाजिरी जवाफ लगायतका गतिविधिमा सहभागिता जनाउनेछन् । विद्यार्थीलाई किताबी ज्ञानका साथै व्यावहारिक जीवनसम्बन्धी कला सिकाउने उद्देश्य रहेको जनाइएको छ ।