स्ववियु निर्वाचन तालिका प्रस्ताव

त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गर्ने कार्यतालिकाको प्रस्ताव अघि सारेको छ । स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले विद्यार्थी संगठनहरुसँगको वैठकमा सो प्रस्ताव राखेको हो  ।

आजको बैठकमा सहभागी अनेरास्ववियू , समाजवादी विद्यार्थी युनियन, अखिल ९छैटौँ०, नेक्राविसंघ लगायतका संगठनले प्रस्तावित स्ववियु निर्वाचन तालिकाको स्वागत गरेको बैठकमा सहभागी अनेरास्ववियूका नेता विजय गौतमले बताए । 

त्रिविले आफ्ना आंगिक कलेजमा मात्र नभई सम्बन्धन प्राप्त सबै कलेजमा स्ववियु गराउन अग्रसर हुनुपर्ने कुरामा विद्यार्थी संगठनले जोड दिएको उनले बताए । बैठकमा नेविसंघले एक दुई दिनमा आफ्नो प्रतिनिधि पठाउने खबर आएको विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगाबहादुर थापाले जानकारी दिएका थिए । 

अदालतको आदेशको आधारमा पनि निर्वाचनको विकल्प नरहेकोले एक दुई दिनमा बाँकी संगठनसँग समेत छलफल गरी निर्वाचन तालिका सार्वजनिक गरिने निमित्त शिक्षाध्यक्ष शिवलाल भुसालले बताए ।

त्रिविका निमित्त शिक्षाध्यक्ष भुसालको अध्यक्षतामा बसेको बैठकमा नेबिसंघ र बिप्लव निकट क्रान्तिकारी बाहेक सबै संगठनको सहभागिता रहेको थियो। 

Thuprai - Books and E-books