हुलाक सेवामार्फत विद्यार्थीको घरमै शैक्षिक प्रमाणपत्र पुर्‍याउने त्रिविको तयारी

हुलाक सेवामार्फत विद्यार्थीको घरमै शैक्षिक प्रमाणपत्र पुर्‍याउने त्रिविको तयारी

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विद्यार्थीले प्राप्त गर्ने शैक्षिक प्रमाणपत्र तथा अन्य आधिकारिक कागजात हुलाक सेवामार्फत उनीहरूको घरमै पुर्‍याउने व्यवस्था सुरु गर्ने भएको छ।

यससम्बन्धी सम्झौतामा मंगलबार त्रिभुवन विश्वविद्यालय र नेपाल सरकारको हुलाक सेवा विभागबिच हस्ताक्षर भएको छ। सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा. रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार त्रिविका विभिन्न निकायबाट जारी हुने शैक्षिक प्रमाणपत्र विद्यार्थीले उपलब्ध गराएको सम्पर्क नम्बर र पूर्ण ठेगानाका आधारमा हुलाकमार्फत सुरक्षित रूपमा वितरण गरिनेछ।

Tu

२२ बुँदे सम्झौतामा प्रमाणपत्र तथा अन्य कार्यालयीय कागजातको ढुवानी र वितरणलाई व्यवस्थित बनाउन ट्र्याकिङ बारकोडसहित पोस्टल ट्र्याकिङ सिस्टम (पीआईटीएस) मा दर्ता गर्ने व्यवस्था पनि समेटिएको छ। यसबाट पठाइएका कागजात सम्बन्धित व्यक्तिको ठेगानामा पुगे वा नपुगेको जानकारी लिन सकिनेछ।

कीर्तिपुरस्थित रजिस्ट्रारको कार्यालयमा आयोजित सम्झौता हस्ताक्षर कार्यक्रममा रजिस्ट्रार शिवाकोटीले विश्वविद्यालयका सेवा हुलाक प्रणालीसँग जोडेर विद्यार्थीको घरदैलोसम्म पुर्‍याउने लामो समयदेखिको योजना कार्यान्वयनमा आउन लागेकोमा खुसी व्यक्त गरे।

त्यसैगरी, हुलाक सेवा विभागकी महानिर्देशक पंगेनीले हुलाक सेवालाई नागरिक र राज्यबिचको महत्त्वपूर्ण सम्पर्क माध्यमका रूपमा उल्लेख गर्दै त्रिविसँगको सहकार्यबाट नागरिकलाई घरमै सेवा पुर्‍याउने जिम्मेवारी पाएकोमा खुसी व्यक्त गरिन्।