एसईई २०८१ ग्रेडवृद्धि परीक्षाका विद्यार्थीका लागि ग्रेडसिट एकीकरण सम्बन्धी सूचना

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले एसईई २०८१ को ग्रेडवृद्धि परीक्षामा सहभागी भई न्यूनतम ग्रेड प्राप्त गरेका विद्यार्थीका लागि ग्रेडसिट एकीकृत गरी प्रमाणपत्रसहित जारी गर्ने सम्बन्धमा सूचना प्रकाशित गरेको छ। उक्त सूचना २०८२ माघ ७ गते जारी गरिएको हो।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार दुई वा दुईभन्दा बढी ग्रेडसिट प्राप्त गरेका विद्यार्थीले ती ग्रेडसिटलाई जीपीएसहित एकीकृत गरी एउटै ग्रेडसिट तथा प्रमाणपत्र लिनुपर्नेछ।
यसअघि ग्रेडसिट एकीकृत गर्न विद्यार्थीहरू परीक्षा नियन्त्रण कार्यालयमै पुग्नुपर्ने हुँदा समय र खर्चका हिसाबले कठिनाइ हुने गरेको थियो। अब भने विद्यार्थीको सहजताका लागि विद्यालय तथा जिल्लास्तरबाटै ग्रेडसिट एकीकृत गर्ने व्यवस्था मिलाइएको छ।
आवेदन प्रक्रिया र म्याद
ग्रेडसिट एकीकरणका लागि विद्यार्थीहरूले २०८२ मंसिर २२ भित्र आफ्नै विद्यालयमा निवेदन दिनुपर्नेछ। विद्यालयहरूले विद्यार्थीबाट निवेदन संकलन गरी आवश्यक कागजातहरू शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउने व्यवस्था गर्नुपर्नेछ।
विद्यार्थीहरूले वेबसाइटबाट फाराम डाउनलोड गरी भरेर दुई वा सोभन्दा बढी ग्रेडसिटका प्रतिलिपि, नागरिकता वा जन्मदर्ताको प्रतिलिपि सहित पेश गर्नुपर्नेछ। प्रत्येक विद्यार्थीले रु ५०० (पाँच सय) राजस्व शुल्क बुझाउनुपर्नेछ। विद्यालयहरूले विद्यार्थीबाट नगद संकलन गरी सो रकम एकमुष्ठ रूपमा राष्ट्रिय परीक्षा बोर्डको नाममा जम्मा गर्न सक्नेछन्।
राजस्व विवरण
विद्यालयहरूले विद्यार्थी सङ्ख्याको आधारमा जम्मा रकम कार्यालय कोड ३५०३१३३०१, राजस्व शीर्षक १४२२३ मा राष्ट्रिय वाणिज्य बैंक वा नेपाल बैंकमा जम्मा गर्नुपर्नेछ। सो रकमको सक्कल भौचर शिक्षा विकास तथा समन्वय इकाइमा पेस गर्नुपर्नेछ।
कागजात संकलन र पठाउने व्यवस्था
शिक्षा विकास तथा समन्वय इकाइहरूले विद्यालयबाट प्राप्त विद्यार्थी निवेदन र कागजातहरू छुट्टै दर्ता किताबमा दर्ता गरी हप्ताको अन्त्यसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पठाउने व्यवस्था मिलाउनेछन्। परीक्षा नियन्त्रण कार्यालयले प्राप्त फाइलहरू छिटो प्रक्रिया गरी सम्बन्धित जिल्लामा प्रमाणपत्र पठाउने र जिल्ला तहले विद्यालयमार्फत विद्यार्थीलाई वितरण गर्ने व्यवस्था हुनेछ।
सिधै निवेदन दिने व्यवस्था
विद्यालयमार्फत निवेदन नपेस गर्ने विद्यार्थीहरूले चाहँदा सिधै परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) मा निवेदन दिन सक्नेछन्। तोकिएको समयभित्र विद्यालयमार्फत एकीकरण नगराउने विद्यार्थीले पछि पनि आफूलाई अनुकूल समयमा कार्यालयमा आएर एकीकृत गराउन सक्ने व्यवस्था गरिएको छ।
आवश्यक कागजात
ग्रेडसिट एकीकृत गर्न विद्यार्थीहरूले तलका कागजातहरू अनिवार्य रूपमा संलग्न गर्नुपर्नेछः
विद्यार्थीले प्राप्त गरेका सबै ग्रेडसिटका फोटोकपी
नागरिकता वा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
प्रवेशपत्रको फोटोकपी
सक्कल निवेदन फाराम
राजस्व भौचर
(यदि विद्यार्थीका विभिन्न ग्रेडसिटहरूमा नाम वा जन्ममिति फरक देखिएमा नागरिकता वा जन्मदर्ताको प्रतिलिपिबाट सो विवरण रुजु गर्नुपर्नेछ।)
प्रमाणपत्र वितरण
जिल्लाबाट पेस भएका निवेदनका आधारमा परीक्षा नियन्त्रण कार्यालयले एकीकृत प्रमाणपत्र तयार गरी शिक्षा विकास तथा समन्वय इकाइमा पठाउनेछ। त्यसपछि इकाइले सम्बन्धित विद्यालयमार्फत विद्यार्थीलाई प्रमाणपत्र उपलब्ध गराउनेछ।
फाराम डाउनलोड गर्ने तरिका
ग्रेडसिट एकीकरणका लागि आवश्यक फाराम परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० को वेबसाइट www.see.gov.np बाट डाउनलोड गर्न सकिनेछ।
सच्याइएको सूचना
यससँगै कार्यालयले मिति २०८२/०७/१९ मा प्रकाशित “रजिस्ट्रेशन फाराम भर्ने सम्बन्धी सूचना” को बुँदा नं. १ (ग) भुलवस पर्न गएको भएकाले सो बुँदा हटाइएको जानकारी समेत गराएको छ।
स्रोत: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०), सानोठिमी, भक्तपुर
