SEE २०८३ को परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०), सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८३ मा कक्षा १० मा अध्ययनरत विद्यार्थीका लागि माध्यमिक शिक्षा परीक्षा (SEE) २०८३ को परीक्षा आवेदन फाराम भर्न सूचना जारी गरेको छ। बोर्डले सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहका शिक्षा शाखा, विद्यालय तथा विद्यार्थीलाई लक्षित गर्दै सूचना जारी गरेको हो।
बोर्डका अनुसार विद्यार्थीले २०८३ कात्तिक ९ गतेदेखि मंसिर ८ गतेसम्म परीक्षा आवेदन फाराम भर्न सक्नेछन्। परीक्षा आवेदन शुल्क प्रतिविद्यार्थी रु. ५०० तोकिएको छ।
आवेदन फाराम भर्न आवश्यक कागजात
१. साधारण, परम्परागत तथा प्राविधिक धारका विद्यालयका विद्यार्थीका लागि
नियमित रूपमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले आवेदन फारामसँगै निम्न कागजात सम्बन्धित विद्यालयमा बुझाउनुपर्नेछ।
रजिस्ट्रेसन अर्धकट्टीको प्रतिलिपि।
शैक्षिक सत्र २०८२ वा सोभन्दा पहिले कक्षा ८ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि।
प्रधानाध्यापकबाट प्रमाणित जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि।
आवेदन फाराममा तोकिएको स्थानमा टाँसिएका हालसालै खिचिएका दुई प्रति पासपोर्ट साइजका फोटो।
२. खुला, वैकल्पिक तथा अनौपचारिक विद्यालयका विद्यार्थीका लागि
निर्धारित योग्यता पूरा गरेका विद्यार्थीले आवश्यक कागजात, दुई प्रति पासपोर्ट साइजका फोटो र परीक्षा शुल्कसहित आवेदन फाराम बुझाउनुपर्नेछ।
खुला वैकल्पिक शिक्षाअन्तर्गत अध्ययनरत विद्यार्थीले कक्षा ९ र १० को कार्यक्रममा भर्ना हुनुभन्दा कम्तीमा दुई वर्षअघि कक्षा ८ वा सोसरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ। प्रमाणपत्र सम्बन्धित निकायबाट प्रमाणित गराउनुपर्नेछ र प्रधानाध्यापकबाट प्रमाणित जन्मदर्ता प्रमाणपत्र पनि बुझाउनुपर्नेछ।
अनौपचारिक विद्यालयका विद्यार्थीले प्रधानाध्यापकबाट प्रमाणित कागजात बुझाउनुपर्नेछ। सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइले विद्यालयको स्वीकृति तथा आवश्यक कागजातको प्रमाणीकरण गर्नेछ।
आवेदन फाराम बुझाउने प्रक्रिया र समयसीमा
विद्यार्थीले आफू नियमित रूपमा अध्ययनरत विद्यालयमार्फत मात्र आवेदन फाराम बुझाउनुपर्नेछ। एकभन्दा बढी विद्यालय वा स्थानबाट फाराम भरेमा त्यस्ता फाराम रद्द गरिनेछ।
विद्यालयले विद्यार्थीको नाम, थर, जन्ममिति र परीक्षा विषय सही भए/नभएको जाँच गरी नेपाली वर्णानुक्रमअनुसार फाराम मिलाउनुपर्नेछ। क्रमसंख्या छुटेको वा दोहोरिएको हुन नदिन पनि सुनिश्चित गर्नुपर्नेछ।
विद्यालयले परीक्षा शुल्क बुझाएको प्रमाणसहित आवेदन फाराम २०८३ मंसिर १४ गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्नेछ।
परीक्षा शुल्क २०८३ मंसिर १५ गतेभित्र राजस्व शीर्षक नम्बर १४२२३ मा तोकिएको बैंक खातामा जम्मा गर्नुपर्नेछ।
शिक्षा विकास तथा समन्वय इकाइले प्राप्त आवेदनको विवरण कम्प्युटरमा प्रविष्ट गरी कागजात स्क्यान गरेर २०८३ पुस मसान्तभित्र राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र सम्बन्धित शिक्षा विकास निर्देशनालयमा विद्युतीय माध्यमबाट पठाउनुपर्नेछ।
परीक्षा केन्द्र निर्धारण तथा व्यवस्थापन
सम्बन्धित निकायसँग समन्वय गरी २०८३ मंसिर ७ गतेभित्र परीक्षा केन्द्र निर्धारण गर्नुपर्नेछ।
छुट्टै भवन तथा इमेल, इन्टरनेट, प्रिन्टर र फोटोकपी मेसिनजस्ता सुविधा भएका विद्यालयलाई परीक्षा केन्द्र निर्धारणमा प्राथमिकता दिइनेछ।
परीक्षा केन्द्र निर्धारण गर्दा विद्यार्थी सङ्ख्या र उपलब्ध सुविधाका आधारमा पर्याप्त क्षमताको व्यवस्था गर्नुपर्नेछ।
विद्यालयले स्वीकृत अभिलेखको कार्यालय प्रति सुरक्षित राख्नुपर्नेछ र विद्यार्थीलाई सिम्बोल नम्बर कायम भएको प्रवेशपत्र समयमै उपलब्ध गराउनुपर्नेछ।
विद्यालय तथा विद्यार्थीले ध्यान दिनुपर्ने अन्य विषय
कक्षा १० मा विद्यालय वा जिल्ला परिवर्तन गरेका विद्यार्थीले शिक्षा नियमावलीअनुसार अघिल्लो शैक्षिक अभिलेख बुझाउनुपर्नेछ।
कक्षा १० मा अध्ययनरत विदेशी विद्यार्थीको विवरण पनि सम्बन्धित निकायमा पेस गर्नुपर्नेछ।
निर्धारित समयभित्र आवेदन फाराम नबुझाउने विद्यार्थी SEE २०८३ मा सहभागी हुन पाउने छैनन्। सबै योग्य विद्यार्थीको फाराम समयमै भराउने व्यवस्था विद्यालयले गर्नुपर्नेछ।
विद्यालयले आन्तरिक मूल्याङ्कनका प्राप्ताङ्क तथा अन्य आवश्यक विवरण २०८३ मंसिर मसान्तभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा बुझाउनुपर्नेछ।
विद्यालयले राजस्व विवरण, अयोग्य विद्यार्थीको विवरण र आन्तरिक मूल्याङ्कनका प्राप्ताङ्क २०८३ फागुन ७ गतेभित्र बुझाउनुपर्नेछ। राजस्व विवरणमा विद्यालयको कोड, विद्यार्थी सङ्ख्या र जम्मा गरिएको रकम स्पष्ट उल्लेख गर्नुपर्नेछ।
खुला, वैकल्पिक तथा अनौपचारिक विद्यालयका विद्यार्थी र आवश्यक प्रक्रिया पूरा गरी कक्षा १० मा भर्ना भएका विदेशी विद्यार्थीले पनि निर्धारित रजिस्ट्रेसन तथा परीक्षा आवेदन फाराम बुझाउनुपर्नेछ।