शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत रहेको वैदेशिक अध्ययन अनुमति शाखाले आजदेखि अनलाइनबाटै वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) जारी गर्ने भएको छ ।
शाखाले सेवा प्रवाहलाई क्यास लेस, फेस लेस र पेपरलेस बनाउने भन्दै अनलाईनबाट एनओसी जारी गर्ने भएको हो । यसको उद्घाटन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले बिहान ९ः४५ बजे गर्ने शाखाले जानकारी दियो । मन्त्रालयले स्वीकृत गरेको ‘वैदेशिक अध्ययन स्वीकृति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम अनलाईनबाट एनओसी जारी गर्ने लागेको हो ।
निर्देशिकाको दफा ७ को उपदफा (३) र (४) मा सेवाग्राहीलाई विद्युतीय प्रणालीको प्रयोग गरेर वैदेशिक अध्ययन स्वीकृती पत्र डाउनलोड गर्न सक्ने गरी सेवा प्रवाहलाइ क्यास लेस, फेस लेस र पेपरलेस बनाउनुपर्ने व्यवस्था रहेको छ । शाखाले २०७७ साल भदौ १२ गतेदेखि सेमी अनलाइन रुपमा एनओसी प्रदान गर्दे आईरहेको छ ।
एपीआई मोडेल र पोर्टल मोडलको प्रयोग गरी अनलाइनबाटै एनओसी जारी गर्ने शाखाले जानकारी दियो । एपीआई मोडल अन्र्तगत सरोकारवाला शैक्षिक संस्थाहरूको एपीआई इन्ट्रिग्रेड गरी अनलाइन रुपमा आवेदकले प्रविष्ट गरेका कागजातहरूको अटोनोमस भेरिफिकेशन गरी एनओसी प्रदान गर्ने छ ।
विद्यार्थीले वैदेशिक मुद्राको सटही सुविधा लिए नलिएको विवरण बैंक तथा वित्तीय संस्थाहरूले उनीहरूलाई उपलब्ध हुने युजर एकाउन्ट डिटेल्स् प्रयोग गरी अनलाइनमा नै सबमिट गर्ने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाले सोही पोर्टलमा उलपब्ध वैदेशिक अध्ययनको स्वीकृति (नो अब्जेक्सन सर्टिफिकेट) सम्बन्धी विवरण यकिन गरी सटही सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।