Bachelors Portal

बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थी

Managed Admission 2022

बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् । यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिए । आज केहीबेर अघि यहाँ आइपुगेका ती विद्यार्थीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

 तीन सय ४० नेपाली विद्यार्थी काँकडभिट्टा आइपुगे

पूर्वीनाका काँकडभिट्टा हुँदै तीन दिनमा तीन सय ४० जना नेपाली विद्यार्थी बङ्गलादेशबाट फर्किएका छन् ।

बङ्गलादेशमा हिंस्रक आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किन थालेका हुन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बिहीबार ८५, शुक्रबार एक सय १४ र शनिबार एक सय ४१ जना नेपाली विद्यार्थी स्वदेश फर्किएका जानकारी दिए । नेपाली विद्यार्थीसँगै बङ्गलादेशमा अध्ययनरत माल्दिभ्सकी एक छात्रासमेत काँकडभिट्टा नाका भएर नेपाल आएकी उनले बताए  ।

“माल्दिभ्सकी छात्रा नेपालीसँगै त्यहाँ अध्ययन गर्नुहुँदो रहेछ”, अध्यागमन प्रमुख पनेरुले भने , “आन्दोलनका कारण हिंसा बढेपछि उहाँ पनि नेपालीसँगै यहाँ आउनुभयो । भारतीय अध्यागमन अधिकारीले पनि उहाँलाई नेपाल जान अनुमति दिएका उहाँले हामीलाई जानकारी दिनुभयो ।”

चिकित्सा शिक्षा अध्ययनका लागि हजारौँ नेपाली विद्यार्थी बङ्गलादेशमा रहँदै आएका छन् । केही समययता बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण धेरै भएको भन्दै चलेको विद्यार्थी आन्दोलनले उग्ररुप लिएको छ ।

परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

नेपाल आउन चाहनेहरुका लागि पनि आवश्यक वातावरण मिलाउन परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो ।

मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ । यस प्रयोजनका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । उता दूतावासले पनि विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेक बाहिर ननिस्कन विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनिएको छ । सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलनका कारण शनिबारसम्म करिब आठ सय नेपाली विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले हिजो जनाएको थियो ।

Select college / campus