अधिकांश मुसहर बालबालिका विद्यालय बाहिर

नवलपरासीको प्रतापपुर गाउँपालिका–६ कठहवाका मुसहर बालबालिका अझै विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । विद्यालयको ढोका टेकेका बालबालिकाले पनि आधारभूत तहको कक्षा पाँचसम्म पुरा गर्न सकेका छैनन् ।

केही बालबालिका निजी विद्यालयमा भर्ना भएर शुल्क तिर्न नसकेपछि विद्यालय जानबाट बञ्चित भएका छन् भने केही बालबालिका पहिल्लो विद्यालयबाट शुल्क तिरेर चारित्रिक प्रमाणपत्र ल्याउन नसक्दा सामुदायिक विद्यालयमा भर्ना हुन पाएका छैनन् ।

 नजिकैको  निजी विद्यालयमा कक्षा २ सम्म अध्ययन गरेकी पुनम मुसहरले विद्यालय छोडेको एक वर्ष भयो । यो कक्षा ३ मा भर्ना हुनुपर्ने भएपनि उनी विद्यालय भर्ना हुन सकिनन् । विद्यालय जाने इच्छा भएपनि पुनमले अध्ययन गरेको विद्यालयको बाँकी शुल्क तिर्न नसक्दा गाउँ नजिकैको सामुदायिक विद्यालयलेसमेत भर्ना लिन मानेन ।चारित्रिक प्रमाणपत्र नभएका कारण उनी अर्को विद्यालय जानबाट समेत बञ्चित भइन् ।

केही वर्षअघि बुबा धिमल मुसहरले पुनमसंगै उनका दुई दाजु बहिनीलाई नजिकैको एपेक्स बोर्डिङ स्कुलमा भर्ना गरेका थिए । आर्थिक अभावले शुल्क तिर्न नसकेपछि उनीहरूले पढ्न पाएनन् ।

सामुदायिक विद्यालयमा पढ्न खोज्दा, स्थानान्तरण प्रमाणपत्र मागियो । एपेक्सको पाँच हजार बक्यौता तिर्न नसकेपछि सामुदायिक विद्यालयमा समेत भर्नाबाट बञ्चित हुनुपर्यो ।

कठहवाका अधिकांश मुसहर बालबालिका आर्थिक अभावमा विद्यालय जान सकेका छैनन् । कठहवामा मात्रै ४० घरपरिवार मुसहरको बस्ती छ ।

राससका अनुसार अधिकांश विद्यालय उमेर समूहका बालबालिका विद्यालय जाँदैनन् । पुरै बस्तीबाट एकजना मात्र एसईई परीक्षा दिएर परीक्षाफलको प्रतिक्षामा रहेका छन् । स्थानीय उमेश मुसहरले भने, “यो गरिब बस्ती हो, यहाँ मजदुरी नगरे मुख जुठो पार्न गाह्रो छ, बालबच्चा कसरी पढाउने ?

जनजागृति माध्यमिक विद्यालयका प्रधानाध्यापक बाबुराम सुवेदीले स्थानान्तरण प्रमाणपत्र विना कुनै विद्यालयले विद्यार्थी भर्ना गर्न नपाउने बताए । ‘अझ यो वर्ष अनलाइन इएमआइएस प्रणाली लागू भएकाले अध्ययनरत विद्यालयले स्थानान्तरण प्रमाणपत्र नदिएसम्म अर्को विद्यालयले भर्ना गर्न नपाउने व्यवस्था छ’, उनले भने ।

गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम ढुङ्गानाले मुसहर गाउँका अधिकांश बालबालिका विद्यालयबाहिर रहेको समस्याबारे जानकारी भएको स्वीकार्दै भने, ‘अभिभावकले पनि आफ्नो आर्थिक हैसियत नहेरी छोराछोरीलाई निजी विद्यालयमा भर्ना गर्ने र शुल्क बाँकी राख्दै सामुदायिक विद्यालयमा ल्याउने समस्या छ ।’

प्रतापपुर गाउँपालिका–६ का वडाध्यक्ष केशवप्रसाद अधिकारीले मुसहर समुदायको सामाजिक विकासका लागि धेरै प्रयास भए पनि सफलता प्राप्त नगरेको बताए ।