काठमाडौं महानगरपालिकाले कक्षा ११ को छात्रवृत्ति कोटामा अध्ययन गर्न दिने आवेदनको समय तीन दिन थप गरेको छ । महानगर शिक्षा विभागले सूचना जारी गर्दै साउन १२ गते राती ११ः५९ बजे सम्म दिइएको अवधिलाई तीन दिन थप गरेको हो । अब इच्छुक विदँर्थीले साउन १५ गते दिउँसो ३ बजेसम्म आवेदन दिन पाउने गरी समय थप गरेको छ ।
कागजपत्र मिलाउन समय लागेको, प्रमाण पत्र प्राप्त नभएको जस्ता कारण आफूहरू आवेदन दिनबाट बञ्चित भएको विद्यार्थीहरूले गुनासो गरेपछि ३ दिन म्याद थपिएको शिक्षा अधिकारी सीताराम कोइरालाले बताए ।
‘धेरै विद्यार्थीहरूलाई आवेदन दिने अवसर उपलब्ध गराउन म्याद थपिएको हो ।’ कोइरालाले भने, ‘आवेदन दिने समय थप भए पनि परीक्षाको मिति भने परिवर्तन गरिएको छैन ।’
करिब ४ हजार ३ सय विद्यार्थीलाई उपलब्ध हुने छात्रवृत्तिका लागि अहिलेसम्ममा ५ हजार ७२८ जनाको आवेदन प्राप्त भएको छ । जसमा सबैभन्दा धेरै विज्ञान विषयका लागि छन् ।