देवी चन्द्रकला सखीलाई एलआरआई रत्न

एलआरआई विद्यालयले आफ्नो पूर्वविद्यार्थी देवी चन्द्रकला सखी (सृष्टि अधिकारी)लाई  एलआरआई रत्न प्रदान गरेको छ ।

काठमाडौँको कलंकीस्थित विद्यालयमा विद्यार्थीका लागि संस्कार सहितको शिक्षा विषयक आध्यात्मिक प्रवचन कार्यक्रममा चन्द्रकला सखीलाई विद्यालयका संस्थापक गुठीयार शिवराज पन्त, गुठीयार यशोधरा पन्त तथा प्राचार्य डा. देवकान्त जोशीले संयुक्त रुपमा सो उपाधि प्रदान गरे ।

एलआरआई रत्न विद्यालयद्वारा मेधावी विद्यार्थीलाई प्रदान गरिने सर्वोच्च सम्मान हो ।

कार्यक्रममा बोल्दै सखीले जीवनमा सफलता हासिल गर्न आध्यात्मिक ज्ञान तथा युग सुहाउँदो आधुनिक शिक्षा प्रणालिलाई सन्तुलित ढङ्गले अघि बढ्नु जरुरी रहेको बताइन् । गुरु कृपा भनेको सबैभन्दा ठुलो आशिर्वाद भएकोले जीवनमा हामीले सधैँ गुरुको सम्मान गर्नुपर्नेमा जोड दिँदै आज आफूले जे जति सम्मान प्राप्त गरेको छु यो सबै गुरु कृपा भएको बताइन् ।

प्राचार्य डा. जोशीले देवी सखीको लगनशीलता, मिहिनेत, आत्म अनुशासन तथा धीरताको कारण सानै उमेरमा यो उचाई हासिल गर्न सफल भएको बताए । विद्यालयका प्रमुख प्रशासकीय अधिकृत दीपक जोशीले विद्यालयमा आध्यात्मिक शिविर आयोजना गरिने जानकारी दिए ।

चन्द्रकला सखीले सो विद्यालयमा नर्सरीदेखी अध्ययन गरी २०७० सालमा एसएलसी परीक्षा दिएकी थिइन् । उनी एसएलसी परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएकी थिइन् । हाल उनी बेलायतमा उच्च शिक्षा अध्ययन गरिरहेकी छिन् ।  

नेपालकी पहिलो महिला रामचरितमानस र भक्तमाल कथा वाचिकाका रुपमा अन्तर्राष्ट्रिय स्तरमा प्रख्यात चन्द्रकला सखीले पश्चिमा देशमा समेत वैदिक सनातन अनुष्ठान सञ्चालन गर्दै आएकी छिन् ।