जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तेस्रो डिन नियुक्त गरिएको विषयमा केन्द्रीय तथा शैक्षिक प्रशासनसहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रतिष्ठानका दुईवटा डिनले काम नपाएको समयमा तेस्रो जनस्वास्थ्य सङ्कायको डिनको पद सिर्जना गरी प्राडा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको विषयमा कर्मचारीले विरोध गरेका छन् ।
प्रतिष्ठानका उपकुलपति प्राडा राजेन्द्रराज वाग्लेले आवश्यकता नभएकै समयमा नियमविपरीत थप अर्का डिन नियुक्त गरेका भनी प्रतिष्ठानका कर्मचारी आन्दोलित भएका हुन् ।
मङ्गलबार तेस्रो डिनको नियुक्ति फिर्ता लिन भन्दै प्रेस विज्ञप्ति जारी गरेको कर्णाली प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजले सुनुवाइ नभएको भन्दै उपकुलपति, शिक्षाध्यक्ष, रजिष्ट्रारको कार्यालयको मूलढोकामा तालाबन्दी गरेका हुन् ।
अध्यक्ष रामाकान्त उपाध्यायबाट जारी विज्ञप्तिमा अनियमित तरिकाले नियुक्त गरिएका जनस्वास्थ्य सङ्कायका डिनलगायत सम्पूर्ण फजुल नियुक्ति खारेज गरिनुपर्ने, यसअघिका माग पूरा गर्नुपर्ने, कोरोनामा खटिने सम्पूूर्ण चिकित्सक कर्मचारी र कर्मचारीको जोखिमभत्ता उपलब्ध गराइनुपर्ने उल्लेख गरिएको छ ।
उपकुलपति वाग्लेले सम्पर्क कार्यालय ललितपुरबाट असोज २६ गते जनस्वास्थ्य सङ्कायको डिन अनियमित तरिकाले नियुक्त गरिएको विषयमा विरोध गर्दै २४ घण्टे अल्टिमेटम कर्मचारीले २४ घण्टे अल्टिमेटम दिएका थिए ।
राससका अनुसार कर्णाली प्रतिष्ठानमा अहिलेका तीन डिनमध्ये पहिलो सरस्वती गौतम, दोस्रो प्राडा रेशमबहादुर राना नियुक्त र असोज २६ गते जनस्वास्थ्य डिन पदमा प्राडा मुनिराज क्षेत्रीलाई नियुक्त गरिएको पत्र प्राप्त भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले शुरुमा २०७६ वैशाख ९ गते वाग्लेलाई नियुक्त गरेको थियो । गौतमपछि प्रतिष्ठानले डिन मेडिसिन प्राडा रेशमबहादुर रानालाई नियुक्त गरिएको प्रतिष्ठान प्रशासनले जनाएको छ ।
कोभिडको समयमा दुई जना डिनलाई काम कम भएको समयमा अझै अर्का डिन नियुक्त गर्नु उपकुलपतिले पदावधि जाँदै गर्दा पदको दुरुपयोग गरेका र राज्यकोष सिध्याउन आफ्ना मानिसको भर्तीकेन्द्र बनाएको भन्दै कर्मचारी विरोधमा उत्रिएका हुन् ।
प्रतिष्ठानका अनुसार फागुन महिनमा उपकुलपति वाग्लेको पदावधि सकिँदैछ । यता उपकुलपति प्राडा वाग्लेले प्रतिष्ठानलाई अब ५०० श्ययाको अस्पताल विस्तार गर्नुपर्ने, एमबिबीएस शुरु गर्नुपर्ने भनेर सरकारबाट आएको र प्रतिष्ठानलाई अन्य हेल्थपोष्टजस्तो गर्ने भएकाले सोहीअनुसार काम भएको प्रतिक्रिया दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ऐन, २०६८ स्थापना भई पदाधिकारी नियुक्त हुने प्रावधान छ । कर्णाली प्रतिष्ठान ऐनको परिच्छेद १ दफा २ परिभाषाको (घ) मा उपकुलपति, उपकुलपति, शिक्षाध्यक्ष, छनोट समितिका अध्यक्ष, रजिष्ट्रार, डिन र निर्देशक भन्ने व्यवस्था छ ।
सोही दफामा आवश्यकतानुसारका पदाधिकारी नियुक्त गर्ने अधिकार पनि छ । उपकुलपति वाग्लेले पछिल्लो तेस्रो डिनमा नियुक्त गरेका महालक्ष्मी नगरपालिका–२ ललितपरका प्राडा मुनिराज क्षेत्रीलाई ऐनको दफा २३ उपदफा १ अनुसार नियुक्त गरिएको नियुक्तिमा उल्लेख छ । तर एउटै पदमा तीन जना पदाधिकारी नियुक्त गर्नु राम्रो नभएको कर्मचारीले बताउँदै विरोध जनाएका छन् ।