पालिकाहरुले आफूखुशी शिक्षक नियुक्ति तथा सरुवा गर्न थालेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले त्यसो नगर्न निर्देशन दिएको छ ।
पर्वत, उदयपुर लगायतका पालिकाले शिक्षक नियुक्ति तथा सरुवा गर्न थालेपछि सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाइले केन्द्रसमक्ष लिखित रुपमा गुनासो गर्न थालेका छन् । सो गुनासाका आधारमा केन्द्रले त्यस्तो नगर्ने निर्देशन दिएको हो ।
केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले अन्तरपालिका र जिल्लान्तर सरुवा गर्न कानुनी रुपमा पालिकाको अधिकार नभएको बताउँदै भने, “गुनासा आएका जिल्लामा मात्र परिपत्र गरेका छौँ ।”
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा शिक्षक सरुवाको अधिकार पालिकालाई दिइएको छैन । त्यसैले हालसम्म पनि शिक्षा ऐन र नियमावलीअनुसार शिक्षक नियुक्ति र सरुवाको अधिकार एकाइमा निहित रहेको भनाइ केन्द्रको छ । पालिकाभित्र शिक्षक सरुवा गर्न कानुनी रुपमा कुनै बाधा नरहेको भनाइ केन्द्रको छ ।
दुवै विद्यालय र पालिकाको सहमतिपछि एकाइले शिक्षक सरुवा गर्न पाउने व्यवस्था भए पनि पालिकाको युवा तथा खेलकुद शाखाले समेत शिक्षक सरुवा गर्ने गरेको पाइएको छ ।
हालसम्म सरुवा गरिएकाहरुको हकमा के गर्ने भन्ने टुङ्गोमा केन्द्र पुगेको छैन भन्दै शाखाका निर्देशक कोइराले भने, “परिपत्रभन्दा पछाडि त्यस्तो गरेको पाइएमा त्यसलाई मान्यता दिइने छैन ।”