Bachelors Portal

तराई -दुर्गममा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन सकेन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबीका कारणले तराई र दुर्गमका कतिपय ठाउँहरूमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको बताएका छन् ।

५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा  बताएका हुन् । 

साक्षरताका कार्यक्रमहरूको सञ्चालनमा स्थानीय तहकोभूमिका महत्त्वपूर्ण हुने उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन सरकारले दिवा खाजा, छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको  उनले स्मरण गरेका छन् ।

त्यस्तै शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ बनिसकेको अवस्थामा यसको कार्यान्वयन गर्नु राज्यको प्रमुख दायित्व  भएको बताएकी छिन् । 

शिक्षा सचिव दिपक काफ्लेले  दिगो विकासका लक्ष्य हासिल गर्न तथा नेपालले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न शिक्षाको महत्त्वपूर्ण भूमिका हुने बताएका छन् ।साक्षर नेपाल अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै सबै निरक्षर नेपालीलाई साक्षर बनाउनु आवश्यक रहेको छ सरोकारवालाहरूको सहकार्य, सहभागिता, सहयोग र समन्वयमा साक्षर नेपालको अभियान सफल बनाउँदै जीवनोपयोगी गुणस्तरीय शिक्षामा समान पहुँच स्थापना गर्न अझै धेरै कार्य गर्नुपर्ने  बताएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका  महानिर्देशक दीपक शर्माले साक्षर नेपाल घोषणा गर्ने नेपाल सरकारको घोषित लक्ष्य पूरा गर्न विगतको अभ्यास, उपलब्धि र अनुभव तथा वर्तमान परिस्थितिका आधारमा आजीवन सिकाइका कार्यक्रम सञ्चालनमा ल्याउन प्रतिबद्ध भएको बताएका छन् ।

शिक्षा पाउने हक, राष्ट्रिय शिक्षा नीतिले अवलम्बन गरेको सिद्धान्त, दिगो विकास लक्ष्य ४ तथा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले अपेक्षा गरेको प्रत्येक नागरिकले शिक्षा पाउने हकको कार्यान्वयन गर्न औपचारिक शिक्षासँगै अनौपचारिक शिक्षा प्रणालीले योगदान गर्ने उनले बताएका छन् । देशको भूगोल, हाल सम्मको शिक्षाको पहुँच र नागरिकका सिकाइ अवस्थाका आधारमा थप सिकाइ अवसरको निर्माण गरी आजीवन सिकाइ संस्कृतिको विकास गर्न अनौपचारिक शिक्षा तथा आजीवन सिकाइलाई थप व्यवस्थित गर्न आवश्यक  भएको उनले दिएको शुभकामनामा औंल्याएका छन् ।

Thuprai - Books and E-books