
काठमाडौँ महानगरपालिकाले विद्यालयहरूलाई पाठ्यपुस्तक, थप शैक्षिक सामग्री तथा विद्यालय पोसाक विद्यालयबाटै बिक्री वितरण नगर्न/नगराउन निर्देशन दिएको छ। महानगरको शिक्षा विभाग, कमलादीले एक जरुरी सूचना जारी गर्दै यस्तो कार्य रोक्न आग्रह गरेको हो।
महानगरपालिकाका अनुसार केही विद्यालयहरूले नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै विद्यार्थी भर्ना गर्ने, पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नभएका पाठ्यपुस्तक प्रयोग गर्ने तथा विद्यालयबाटै पुस्तक र पोसाक खरिद गर्न विद्यार्थी र अभिभावकलाई बाध्य पार्ने गुनासाहरू प्राप्त भएका छन्। यसप्रति ध्यानाकर्षण गराउँदै महानगरले प्रचलित शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा काठमाडौँ महानगरपालिका शिक्षा ऐन २०७५ अनुसारका निम्न प्रावधान पालना गर्न निर्देशन दिएको हो।
१. शैक्षिक सत्र २०८३ सुरु भएपश्चात् मात्र विद्यालयमा विद्यार्थी भर्ना गर्ने/गराउने।
२. नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम पाठ्यपुस्तक मात्र लागू गर्ने।
३. पाठ्यक्रम विकास केन्द्रका स्वीकृति विना थप पाठ्यपुस्तक तथा पाठ्यसामग्री प्रयोग नगर्ने।
४. राष्ट्रियता प्रति आँच आउने पाठ्यसामग्री भएका पाठ्यपुस्तक विद्यालयमा अध्यापन नगराउने।
५. कुनै पनि विद्यालयले विद्यालयबाट पाठ्यपुस्तक खरिद गर्न विद्यार्थीलाई बाध्य नबनाउने ।
६. विद्यालयले विद्यार्थीका लागि एकै किसिमका कम खर्चिला, साधारण, राष्ट्रियता झल्काउन वा हावापानी सुहाउँदो पोसाक तोकी लागु गर्ने।
७. विद्यालयले विद्यालयबाटै पोसाक लिन विद्यार्थीलाई बाध्य नबनाउने।
८. विद्यालयले विद्यार्थी भर्नासँगै निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने सुनिश्चितता गर्ने।
९. अभिभावकज्यूहरुले विद्यार्थी भर्ना गर्दा उक्त विद्यालय सम्बन्धित निकायबाट अनुमति र स्वीकृती प्राप्त हो होइन एकीन गरेर मात्र शैक्षिक सत्र २०८३ को सुरुमै आफ्ना बालबालिकाहरुलाई विद्यालयमा अनिवार्य रुपमा भर्ना गर्ने।
यदि कसैले उक्त प्रावधानहरू उल्लङ्घन गरेको पाइएमा प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम कारवाही हुने महानगरपालिकाले सूचित गरेको छ।




