काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा सुरु भएको कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) बन्द गरेको छ। महानगर प्रहरीले आज मेला स्थलबाट कागज पत्र जफत गर्दै मेला बन्द गरिदिएको छ । प्रक्रिया पूरा नगरी शैक्षिक मेलाको आयोजना गरिएको भन्दै बन्द गराएको हो ।
महानगरको निर्देशन अनुसार एसईईको नतिजा सार्वजनिक नभइ विद्यार्थीहरूसँग शुल्क र विद्यार्थीहरूको विवरण लिइन पाइँदैन। तर, मेला स्थलबाटै विद्यार्थी भर्ना लिएको तथा अन्य भर्ना जन्य गतिविधि सञ्चालन गरेपछि मेला बन्द गरेको हो ।
महानगरपालिकाले आज बन्द गरिएको मेला भोलि देखि प्रकृया गत रुपमा अनुमति नलिएमा सधैलाई बन्द गर्नु पर्ने निर्देशन दिएको छ । महानगरले आयोजकलाई बार्ताका लागि बोलाएको महानगर शिक्षा विभागले जानकारी दियो । वार्ताका लागि साझसम्म हिसानका प्रतिनिधि नगएमा महानगर सधैलाई मेला बन्द गर्न पक्षमा पुगेको महानगर उच्च स्रोतले जानकारी दियो ।
कान्तिपुर पब्लिकेसन्स र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले संयुक्त रूपमा मेलाको आयोजना गरेका थिए। यो मेला आठौं संस्करणको हो । ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नाराका साथ मेला भृकुटीमण्डपमा चार दिनका लागि तय गरिएको थियो ।
एडुफेयरमा विभिन्न विश्वविद्यालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम केन्द्र गरेर ७५ बढी शैक्षिक संस्थाको सहभागिता रहने भनिएको थियो । शैक्षिक मेलाको बिहिबार बिहान सभामुख देवराज घिमिरेले उद्घाटन गरेका थिए ।