जनक शिक्षा सामग्री केन्द्रले अब देखि हुलाक टिकट, जग्गाधनी प्रमाण पुर्जा, भिसा स्टिकर छपाइ गर्ने भएको छ ।
कार्तिक ८ गते बसेको मन्त्री परिषद्को बैठकले जनक शिक्षालाई उक्त जिम्मा दिने निर्णय गरेको हो ।
यसअघि भारत, इन्डोनेसिया लगायतका मुलुकमा छापिँदै आएको छपाइ अब जनक शिक्षाबाटै हुने भएको छ ।
विद्यालय तहको पाठ्यपुस्तक छपाइ तथा बिक्री वितरणको जिम्मा पाएको जनक शिक्षाले अब देखि जग्गाधनी प्रमाण पुर्जा, भिसा स्टिकर छाप्न पाउने भएको हो ।
पाठ्यपुस्तक बाहेक जनक शिक्षाले यस अघि आन्तरिक राजस्वका स्टीकर, यातायात कार्यालयका ब्लूबुक, निर्वाचनको मतपत्रका साथै एसईई र कक्षा १२ को प्रश्नपत्रसमेत छपाइ गर्दै आएको छ ।
कडा सुरक्षा घेरामा जनक शिक्षाको सेक्युरिटी प्रेसमा यस अघि देखि नै हुलाक टिकट छपाइ गर्दै आएको थियो । हुलाक सेवा विभागको सहमतिअनुसार जनक शिक्षाले लालीगुराँस सहितका फूल, रैथाने वनस्पति, राजनीतिज्ञ र शहिद लगायत १४ प्रकारका हुलाक टिकट छपाइ गर्दै आइरहेको छ ।