चितवनको भरतपुर महानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षाको अनुगमन गर्दा मर्यादा विपरीत कार्य भएको फेला पारेको छ । मर्यादाविपरीत कार्य गर्ने शिक्षकलाई तत्काल हटाइएको छ । आजबाट परीक्षा सुरु भएको हो र पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन गरिएको थियो ।
नगर शिक्षा अधिकारी सीताराम कोइरालाले स्कुलहरुले अङ्ग्रेजी विषयका शिक्षकलाई नै निरीक्षकका रुपमा प्रयोग गरेको बताउँदै भने, “स्कुल सञ्चालकहरुले आफ्ना बढीभन्दा बढी विद्यार्थीलाई राम्रो अङ्क ल्याएर उत्तीर्ण गराउन सम्बन्धित विषयका शिक्षकलाई नै गार्डमा राखेको र उनीहरुले सिकाइरहेको पाइयो । सम्बन्धित विषयका शिक्षकलाई तत्काल हटाएर अरु विषयका शिक्षकलाई गार्डका रुपमा राख्न लगायौँ ।” उनका अनुसार १५ वटा विद्यालयमा अनुगमन गरिएको थियो र सबैमा यस्तो प्रवृत्ति देखिएको थियो ।
उनले साना बेन्चमा पनि तीनदेखि चार जनासम्म विद्यार्थीलाई राखेर परीक्षा दिन लगाइएको पनि फेला परेको बताए । “त्यसरी राख्नुको उद्देश्य नै नक्कल गराउनु थियो” उनले थपे, “तत्कालै थप कोठा व्यवस्था गरी विद्यार्थीलाई सार्न लगायौँ ।”
भरतपुरमा १५७ स्कुलका छ हजार ६३२ विद्यार्थीले कक्षा ८ को वार्षिक परीक्षा दिँदैछन् । सम्बन्धित स्कुललाई नै परीक्षा केन्द्र तोकिएको छ ।