
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले सिकाइ चौतारी (Learning Portal: learning.cehrd.gov.np) मार्फत शिक्षक अभिमुखीकरणको अनलाइन कोर्स उपलब्ध गराएको जानकारी सार्वजनिक गरेको छ।
केन्द्रका अनुसार सबै शिक्षकहरूले सिकाइ चौतारीमा प्रयोगकर्ता दर्ता गरी अनलाइन अभिमुखीकरण कोर्स पूरा गर्न र सोही पोर्टलमार्फत उपलब्ध हुने प्रमाणपत्र प्राप्त गर्न अनुरोध गरिएको छ।
शिक्षण–सिकाइ प्रक्रियामा सहजीकरण गर्ने उद्देश्यले सिकाइ चौतारीलाई एकीकृत पोर्टलका रूपमा व्यवस्थित गर्दै विभिन्न शैक्षिक सामग्रीहरू एउटै स्थानबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको केन्द्रले जनाएको छ। यसका लागि शिक्षा विकास तथा समन्वय एकाइ, स्थानीय तह, सामुदायिक तथा संस्थागत विद्यालय सबैलाई यसको विस्तारमा सक्रिय हुन निर्देशन दिइएको छ।
केन्द्रले देशभरका प्रत्येक विद्यालयबाट कम्तीमा ५ जना शिक्षकलाई अनिवार्य रूपमा पोर्टलमा दर्ता गराउन आग्रह गरेको छ। साथै विद्यार्थी र अभिभावकलाई समेत सिकाइ चौतारी प्रयोग सम्बन्धी जानकारी दिन शिक्षकहरूलाई अनुरोध गरिएको छ।
सिकाइ चौतारीमा दर्ता प्रक्रिया, शिक्षक अभिमुखीकरण कोर्सका विवरण तथा आवश्यक निर्देशनहरू शिक्षा तथा मानवस्रोत विकास केन्द्रको वेबसाइट www.cehrd.gov.np तथा https://learning.cehrd.gov.np/ मार्फत हेर्न सकिने जानकारी केन्द्रले दिएको छ।



